लन्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएकामा सांसद थेरेजा मेलाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले बधाई सन्देश पठाउँदै नेपाल र बेलायतबीच विगतदेखि नै मित्रवत् सम्बन्ध तथा सहकार्य रहेको र यी दुई मुलुकले यही वर्ष द्विशताब्दी मनाउन लागेको स्मरण गर्नुभएको छ । सन्देशमा प्रधानमन्त्री ओलीले नेपालको प्रजातन्त्रको विकासमा बेलायतले पुरयाउँदै आएको निरन्तरको ऐक्यबद्धताको उच्च सराहना गर्दै आगामी दिनमा बेलायतले नेपालको विकासमा निरन्तर सहयोग उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत वर्ष असोजमा जारी नयाँ संविधानको कार्यान्वयन नै नेपालको प्रमुख कार्यभार भएको बताउँदै उहाँले सन्देशमा भूकम्पछिको पुनःनिर्माण नेपालको तत्कालको महत्वपूर्ण कार्य भएको जानकारी गराउनुभएको छ । सन्देशमा प्रधानमन्त्रीले नेपाल दिगो आर्थिक विकासको चरणमा प्रवेश गरेको बताउँदै विगतका पछौटेपनाविरुद्ध अगाडि बढ्न बेलायतको नेपालसँग ऐक्यबद्धता तथा सहकार्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।