काठमाडौँ, ६ साउन । सरकारी वार्ता टोली र अनशनरत प्रा डा गोविन्द केसीको प्रतिनिधि वार्ता टोलीबीचको आजको वार्ता सकारात्मक भएको छ ।
डा केसीका तर्फबाट वार्तामा सहभागी डा जीवन क्षेत्रीले वार्ता सकारात्मक रुपमा अगाडि बढेको र सबै बुँदामा छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आजको वार्ताको प्रगतिबारे हामीले डा केसीलाई जानकारी गराउने र उहाँहरु (सरकारी टोली) ले सरकारलाई जानकारी गराएर थप वार्ता गर्ने गरी आजको वार्ता टुङ्गिएको छ ।” दुवै पक्षको छलफलपछि वार्ता आजै वा भोलि(शुक्रबार) पुनः बस्ने उहाँले बताउनुभयो ।
वार्तामा सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयका सचिव डा शैलेन्द्र उप्रेती, केदारबहादुर अधिकारी र लवदेव अवस्थी तथा प्रा डा केसीका तर्फबाट डा रञ्जन सापकोटा, डा अञ्जनीकुमार झा, डा क्षेत्री, डा लिजन महर्जन, डा स्नेहबन्धु रेग्मी र सुमन आचार्य सहभागी हुनुहुनथ्यो ।
डा केसी चिकित्सा क्षेत्र सुधार लगायत विभिन्न माग राख्दै गत १२ दिनदेखि अनशन बसिरहनुभएको छ ।
डा केसीको मागका विषयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विगत केही दिनदेखि अनशसनरत प्रा डा गोविन्द केसीले उठाउनुभएको मागलाई तत्काल सम्बोधन गर्न माग गर्दै व्यवस्थापिका–संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ ।
नेपाली काँग्रेसका सांसदद्वय गगनकुमार थापा र धनराज गुरुङ र नेकपा(माओवादी केन्द्र)का सांसद श्याम श्रेष्ठले आज सो प्रस्ताव दर्ता गराउनुभएको हो ।
दर्ता भएको प्रस्तावमा विगत ११ दिनदेखि आमरण अनशनरत डा केसीको जीवनरक्षाका लागि संसद्ले अविलम्ब पहल गर्न अपरिहार्य भएको, जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य शिक्षा जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्रमा ब्याप्त भ्रष्टाचार र बेथितीका विषयमा सदनको ध्यान जानुपर्ने उल्लेख छ ।
यस्तै डा केसीले उठाएका मागबारे विगतमा संसद्मा समेत छलफल भएको, संसदीय समितिले निर्देशन दिएको र सरकारले पटक पटक सम्झौतासमेत गरेकाले ती सम्झौताको कार्यान्वयन भए नभएको सन्दर्भमा सरकारलाई संसद्प्रति जवाफदेही बनाउन आवश्यक देखिएको उल्लेख गरिएको छ ।
यस्तै सार्वजनिक महत्वको प्रस्तावमा डा केसीले उठाउनुभएको अन्य मागको विषयसमेत संसद्सँग प्रत्यक्ष जोडिएकाले छलफल गर्न आवश्यक रहेको स्पष्ट पारिएको छ ।
केदारभक्त माथेमा कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनको अवस्था पनि छलफलको विषय रहेको उक्त प्रस्तावमा उल्लेख गरिएको छ ।