काठमाडौँ, ८ साउन । विश्वका ७३ मुलुकका नागरिकले नेपालको हिमालको आरोहण गर्ने गरेको पाइएको छ । सरकारले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालसहितका आरोहीले नेपालको प्राकृतिक सौन्दर्यको रसपान गरेको मात्रै नभई हिमाली श्रृङ्खलाको आरोहण गरेका छन् ।
हिमाल आरोहणका लागि स्वीकृति लिनेमा भने नेपाली नागरिक नै उल्लेख्य सङ्ख्यामा रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको ‘नेपालको पर्यटन तथ्याङ्क २०१५’ मा नेपालका एक हजार २७४ जनाले हिमाल आरोहणको अनुमतिपत्र लिएको देखिन्छ ।
यस्तै संयुक्त राज्य अमेरिका २६०, स्वीजरल्याण्ड १४८, बेलायत २२९ जापान १६९, स्पेनका १४४, इटाली ८६, नर्वे ५३, दक्षिण कोरिया ४२ पोल्याण्ड ४३, रसियाका ३३ जना रहेका छन् । सर्विया, काजस्तान, केन्या, मौरिसस कुवेत, केर्ज रिपब्लिकका भने एक÷एक जनाले मात्रै त्यस्तो अनुमतिपत्र लिएका थिए । नेपालको हिमाल र पर्यटन क्षेत्रको व्यापक प्रचारप्रसार गर्ने हो भने संसारका अन्य मुलुकका हजारौँ पर्यटक नेपाल भित्रयाउन सकिने पनि सो तथ्याङ्कले निर्दिष्ट गरेको छ ।
हिमाल आरोहणको अनुमति लिनेमा दक्षिण अमेरिकी राष्ट्र पेरुका पाँच जना छन् भने मलेसियाका १२ जना रहेको छन् । कुल तीन हजार ९९१ जना स्वदेशी तथा विदेशी नागरिकले अनुमतिपत्र लिएको भए पनि ‘गोरखा भूकम्प’ र भारतको अघोषित नाकाबन्दीलगायत कारणले भने आरोहण गर्नेको सङ्ख्या भने ८२५ जना मात्रै रहेको पाइएको छ । त्यसमा पुरुष ६८५ जना पुरुष छन् भने १४० जना महिला रहेका छन् ।
आठ हजार मि भन्दा अग्ला हिमालदेखि समान्य हिमश्रृङ्खलासम्मको आरोहणका लागि अनुमतिपत्र लिएको सो तथ्याङ्कले देखाएको छ । साना ठूला ७७ वटा हिमाल आरोहण गर्ने गरी अनुमति लिएको भए पनि प्रमुख आर्कषण भने खुम्बु हिमश्रृङ्खला, अन्नपूर्ण, धौवलागिरि, लाङ्टाङलगायत हिमाल नै प्रमुख गन्तव्यका रुपमा रहेको पाइएको छ ।
पाँच हजार मि भन्दा कम उचाइका हिमाल आरोहणका लागि अनुमित नै लिनु पर्दैन त्यसभन्दा माथिका मात्रै अनुमति लिन सकिन्छ । सरकारले हालसम्म ४०५ वटा हिमाल आरोहणको अनुमति दिएको छ । त्यसमा नेपाल पर्वतारोहण सङ्घले २७ वटा थप हिमाल आरोहणको अनुमति दिने गर्छ ।
सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले आरोहण अनुमति लिने बढी देखिएपनि गत साल भूकम्प, नाकाबन्दीलगायत कारण आरोही कम भएको जानकारी दिँदै आरोहण अनुमतिपत्र लिने प्रक्रिया महँगो र केही प्रक्रियागत झन्झटका कारण पनि आरोही कम भएका हुन् भन्नुभयो ।
सगरमाथा आरोहणका लागि ११ हजार अमेरिकी डलर र आठ हजार मि माथिका हिमाल आरोहणका लागि प्रतिव्यक्ति एक हजार ८०० अमेरिकी डलर तिर्नुपर्छ ।
सङ्घका अध्यक्ष शेर्पा मुलुक चिनाउने र रोजगारी सिर्जना गर्ने हिमाल आरोहणलाई सरलीकृत बनाउनुपर्नेमा जोड दिनुहुन्छ । नेपाल वायु सेवा निगमलाई व्यवस्थित बनाउनुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता वृद्धि तथा निर्माणमा विशेष जोड दिनुपर्ने उहाँको भनाइ छ ।
पर्यटन विभागका विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार वसन्त ऋतुमा ९८ आरोहण दलका एक हजार ३७५ जनाले हिमाल आरोहण अनुमति लिएका थिए । यसमध्ये ७४९ विदेशी र ६२६ नेपाली छन् । यीमध्ये ६१८ जनाले आरोहण गरेका छन् । यो मौसममा ३०७ नेपाली र ३०७ विदेशीले सगरमाथासहितका २३ वटा हिमाल आरोहण गरेका छन् । जसमा नेपालसहित ४० वटा देशका ५५ जना महिला र ५५९ पुरुष छन् ।
विभागका अनुसार नेपालमा पाँच हजारभन्दा बढी अग्ला आठ हजार ८४८ मिटरसम्मका कम्तीमा एक हजार ३१० वटा हिमचुचुराको पहिचान भएको छ । हालसम्म २२९ वटा हिमालमा मानव पाइला पुगिसकेका छन् । एक सय ८५ वटा हिमालमा अझै मानव पाइला पुगेको छैन ।
जेट एयरबाट सबैभन्दा बढी पर्यटक भित्रिए
पर्यटन मन्त्रालयकाअनुसार जेट एयरले सबैभन्दा बढी पर्यटक मुलुक भित्र्याएको छ । सन् २०१४ र २०१५ मा सोही विमान कम्पनीले बढी पर्यटक भित्र्याएको देखिन्छ । यस्तै दोस्रोमा एयर अरेबिया, तेस्रोमा नेपाल वायु सेवा निमग, चौँथोमा फ्लाई दुबई र पाँचौँमा इन्डियन एयरलाइन्स रहेका छन् । निगमले पछिल्लो दिनमा अन्तर्राष्ट्रिय उडनाका लागि थप दुई विमान ल्याएपछि नेपाली ध्वजावहाकले पनि उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रयाउन सुरु गरेको छ ।
गोरखा भूकम्प र नाकाबन्दीका कारण सन् २०१५ मा पर्यटक आवागमनको सङ्ख्यामा ३२ प्रतिशतले कमी आयो । कुल पाँच लाख ३८ हजार ९७० पर्यटक नेपाल भित्रिएका थिए । तर सन् २०१४ मा सात लाख ९० हजार ११८ जना पर्यटक आएका थिए । मन्त्रालयकाअनुसार पर्यटक घटेपनि आम्दानीमा भने कमी आएको देखिदैन । सन् २०१४ मा रु ४७ अर्ब १७ करोड ६९ लाख आम्दानी भएको थियो भने सन् २०१५ रु ४९ अर्ब ७८ करोड ८३ लाख आम्दानी भएको छ । सन् २०१४ मा प्रतिपर्यटक आम्दानी करिब ४८ अमेरिकी डलर रहेकामा सन् २०१५ मा ६८.५७ अमेरिकी डलर रहेको छ ।
लुम्बिनी नै पहिलो रोजाइ
मन्त्रालयकाअनुसार नेपाल आउने पर्यटकको पहिलो रोजाइ शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नै रहेको देखिएको छ । सन् २०१५ मा एक लाख २९ हजार १८० ले लुम्बिनी घुमेका छन् भने सन् २०१४ मा एक लाख ३२ हजार ९२६ जनाले भ्रमण गरेका थिए ।
कुल नौ वटा महत्वपूर्ण पर्यटकीय क्षेत्रमध्ये पशुपतिनाथ मन्दिरको अवलोकन गर्नेमा ७८ हजार ६८० पर्यटक रहेका छन् । सन् २०१४ मा भने एक लाख ६६ हजार १७३ जनाले सो क्षेत्रको भ्रमण गरेका थिए । सन् २०१५ मा ५३ प्रतिशतले कमी आएको देखिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा तीन लाख ८४ हजार ३२१, मनासलु पदयात्रामा दुई हजार १३४, मुस्ताङ दुई हजार ६७३, हुम्ला एक हजार ३४६, तल्लो डोल्पा ७८८, माथिल्लो डोल्पा ३२८ , कञ्चनजङ्गा क्षेत्रमा ७३१ जनाले सन् २०१५मा भ्रमण गरेका छन् ।
पूर्वाधार विकासमा जोड
व्यवसायी एवम् नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले भौतिक पूर्वाधारको विकास र हवाई सञ्जालको विस्तार गर्न सकिए नेपालमा सहज रुपमा पर्यटक भित्र्याउन सकिने बताउनुहुन्छ । अर्का पर्यटनविद् प्रचण्डमान श्रेष्ठ पर्यटकको सङ्ख्या बढाउने भन्दा पनि क्षमता वृद्धिमा जोड दिनुपर्ने बताउनुहुन्छ । “नयाँ गन्तव्यको खोजी, भौतिक पूर्वाधारमा लगानी एवम् अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न सकिए नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्न सक्छ”–श्रेष्ठले भन्नुभयो ।