काठमाडौँ, १२ साउन । गृह मन्त्रालयले केही दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी र पहिरोबाट अहिलेसम्म मुलुकभर ६६ को मृत्यु, ३१ घाइते र १५ जना बेपत्ता भएको जनाएको छ ।
मन्त्रालयका अनुसार पहिरोका कारण ७६ वटा घर पूर्णरुपमा र दुईवटा घरमा आंशिक रुपमा क्षति पुगेको छ । प्यूठानमा ३१, गुल्मीमा सात, बाग्लुङमा छ, पाल्पा र रोल्पामा चार÷चार, मकवानपुरमा तीन, अर्घाखाँचीमा दुई, झापामा दुई, रुपन्देहीमा दुई र काठमाडौँ, दोलखा, सर्लाही, पर्वत र उदयपुरमा एक÷एक जनाको मृत्यु भएको छ ।
प्राकृतिक विपद्मै परेर गुल्मीमा नौ, पर्वतमा आठ, प्युठानमा तीन, बाँकेमा तीन, काठमाडौँमा दुई र सुनसरी, बाग्लुङ, दोलखा, अर्घाखाँची, सिन्धुपाल्चोक र रुपन्देहीमा एक÷एकजना घाइते भएका छन् ।
यसैगरी, प्यूठानमा पाँच, अर्घाखाँचीमा दुई, गुल्मीमा दुई र सुनसरी, सप्तरी, झापा, दाङ, कास्की र कपिलवस्तुमा एक÷एक जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ ।
घटनाको जानकारी आउनासाथ सुरक्षा निकायका इकाई र जिल्ला सदरमुकामबाट समेत प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरिएको मन्त्रालयले जानकारी दिउको छ । पहिरोमा परी घाइते भएकी बाग्लुङ राजकुट गाविस–७ की गर्भवती सुशीला तामाङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुरयाइएको थियो ।
डुबानबाट प्रभावित र जोखिममा रहेको बाँकेका राप्ती नदीे तटीय क्षेत्रका ५०६ जना व्यक्तिलाई नेपाली सेनाको हेलिकप्टर र ३९३ जनालाई डुङ्गाबाट उद्धार गरी सुरक्षित स्थान सारिएको र सुनसरीका ३८५ परिवारलाई राहत वितरण गरिएको मन्त्रालयले जनाएको छ ।
मनसुन पूर्वतयारी कार्ययोजनाअनुरुप तत्काल खोज, उद्धार र राहत वितरण गर्न सक्ने गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
राहत तथा उद्धारका लागि ७५ करोड निकासा गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद्को आजको बैठकले बाढीपीडितको तत्काल राहत तथा उद्धारका लागि रु ७५ करोड निकासा गर्ने निर्णय गरेको छ ।
बैठकले देशका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकको समग्र क्षतिमा दुःख व्यक्त गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।
बैठकले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को घडीमा आवश्यक उद्धार, राहत, उपचारका साथै खाद्यान्न र लत्ताकपडा जस्ता अत्यावश्यक वस्तु प्रवन्धमा सम्पूर्ण साधन स्रोतको परिचालन गरी जुट्न स्थानीय प्रशासन, सरकारी निकाय र सुरक्षा निकायलाई आह्वान गरेको छ ।
बाढी, पहिरो र डुबनाबाट घरबारविहीन भएकाहरुलाई वर्गीकरण गरी आवश्यक अनुदान उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।
राहत, उद्धार, पुनःस्थापनामा जुट्ने सम्पुर्ण सुरक्षाकर्मीलाई बैठकले धन्यवाद दिएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको स्वामित्वमा रहेको दुई सय बिगाहा जमिन त्रिभुवन विश्वविद्यालय मातहतमा सञ्चालन हुने शिक्षण अस्पताल निर्माणका लागि प्रदान गर्ने निर्णय सरकारले गरेको छ । सो अस्पतालको नाम गौतमबुद्ध शिक्षण अस्पताल, रुपन्देही राख्ने निर्णयसमेत भएको छ ।