उपराष्ट्रपति नन्दबहादुर पुनले नवनिर्वाचत प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई तथा शुभकामना दिनुभएको छ ।
उपराष्ट्रपति पुनले आज टेलिफोन गरेर प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका दाहाललाई बधाई दिनुभएको उहाँको प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनु भएको छ ।
उपराष्ट्रपति पुनले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, संविधानप्रति असन्तुष्ट पक्षको मागको सम्बोधन, व्यवस्थापिका–संसद् र संसद् बाहिर रहेका दललाई पनि साथमा लिई बलियो राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणलाई मुलुकको ‘एजेण्डा’ बनाएर अगाडि बढ्न सुझाव दिनुभएको छ ।
प्रधानमन्त्रीको गृह जिल्लामा दीपावली
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएको खुसीयालीमा उहाँको गृह जिल्ला चितवनमा आज साँझ दीपावली गरिएको छ ।
चितवनको भरतपुरमा माओवादीका केन्द्रीय सदस्य बाबुराम खरेल, प्रधानमन्त्रीको गाउँ शिवनगरमा नेता घनश्याम दाहाल र पूर्वी चितवनको रत्ननगरमा जिल्ला नेता रामध्वज डल्लाकोटीको नेतृत्वमा दीपावली गरिएको जिल्ला नेत्री निशा भट्टराईले जानकारी दिनुभयो ।
दीपावलीका क्रममा माओवादीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले एक आपसमा खुसी साटासाट गरेका थिए ।