काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपासँगको एकीकरणको अध्याय एकता नभई अन्त्य भएको बताउनुभएको छ ।
पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले दुवै पार्टीबीच आज हुने भनिएको एकीकरण राप्रपाको सत्तामोहका कारण हुन नसकेको आरोप लगाउनुभयो ।
अध्यक्ष थापाले केही दिनअगाडि आफू र राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले दुवै पार्टी आज एकीकरणका लागि समझदारी पत्रमा दस्तखत गरेको स्मरण गर्दै दुई साताभित्र संयुक्त बैठक बसेर सरकारमा जाने वा नजाने विषयमा निर्णय लिने सहमति भएकामा सोमबार राप्रपाले सहमति उल्लङ्घन गरी एकतर्फी निर्णय गरेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले मुलुकको राष्ट्रियता सङ्कटमा छ, नेपालीको निर्णय क्षमतालाई अवरोध गरिएको छ, त्यसैले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको खाँचो छ । हामी राष्ट्रलाई माया गर्ने कुनै पनि शक्तिसँग एकीकरणका लागि प्रयत्न गर्छौं ।”
सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष थापाले राष्ट्रिय अखण्डता र नेपालीको निर्णय क्षमताको संरक्षणका दृष्टिले आगामी दिन चुनौतीपूर्ण रहेकाले आफूहरु सरकारमा नजाने प्रस्ट पार्नुभयो ।
राप्रपाको ध्यानाकर्षण
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपाल अध्यक्ष कमल थापाले आफ्नो पार्टीसँगको एकताको अध्याय समाप्त भएर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राप्रपाका सहप्रवक्ता किरण गिरीले निकाल्नुभएको विज्ञप्तिमा राप्रपा नेपालका अध्यक्ष थापाले आज दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको हो ।
विज्ञप्तिमा गिरीले राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले पार्टी एकताप्रति प्रतिबद्ध र कटिबद्ध रहेको स्पष्ट धारणा सार्वजनिक गरिसकेको जनाउँदै राप्रपा अन्तरिम विधानको अन्तरवस्तुमा सहमति गर्दै राप्रपा नेपालसँग एकता गर्न सधैँ खुला र उदार भएको उल्लेख गर्नुभएको छ ।