जुम्ला, २ भदौ । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनले समिता शाहीलाई महिला केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
शाही कर्णालीबाट निर्वाचित हुने पहिलो महिला केन्द्रीय सदस्य हुनुहुन्छ । विद्यार्थी राजनीतिमा विगत २५ वर्षसम्म जुम्लाबाट कुनै पनि महिला वा पुरुष केन्द्रीय सदस्यमा नपुगेको अवस्थामा नेविसंघको ११ औं महाधिवेशनले उहाँलाई केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको नेपाली काँग्रेस जुम्लाका पार्टी सचिव कर्णबहादुर शाहीले जानकारी दिनुभयो ।
सिंजाका नमजङ्ग हमाल र त्यसपछि नेपाली काँग्रेस जुम्लाका तत्कालीन सभापति हुनुभएका स्वर्गीय मानव सेजुवाल केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको २५ वर्षपछि शाहीलाई निर्वाचित गरेको उहाँले बताउनुभयो ।
जुम्लाको अत्यन्तै विकट गाविस ताम्ती ८ टोप्ला गाउमा जन्मनुभएकी २२ वर्षीया शाहीले पिछडिएको क्षेत्रका लागि तोकिएको कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको थियो ।
नेवि सङ्घको मतदान सकियो
काठमाडौँ, २ भदौ । संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको मतदान सकिएको छ ।
बुधबार बिहान १२ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बिहान ९ः४५ मा सकिएको हो । निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुका अनुसार तीन हजार ३०७ प्रतिनिधिले मतदान गरेका छन् ।
उहाँले मत केहीबेरपछि गणना हुने र तीन घन्टाभित्र मतपरिणाम सार्वजनिक गरिने राससलाई जानकारी दिनुभयो ।