संसारको कुनै दम्भ, शक्ति, सत्ता, तानाशाह झुकेको छ भने त्यो युवाहरुको आगाडि मात्रै झुकेको छ । यो दुनियाको रोमाञ्चकारी खोज, समाजका कुरुती विरुद्धको जेहाद, निरंकुश शासनका विरुद्दको बिद्रोह जस्ता तमाम कुराहरुको नेतृत्व युवाहरुले गरेका हुन्छन् । हरेक युगका हरेक युवाहरुले चाहे आफ्नो प्रेमी प्रेमिका पाउन होस् वा समाजका स्थापित असमानता विरुद्ध संघर्ष गरेकै हुन्छन् । रोग, गरिबी, अशिक्षा, पछौटेपन जस्ता सामाजिक कुरुतिका बिरुद्ध संधै अग्रस्थानमा रहेर यसको समाधानका उपायहरु के हुन् भनि सरकार र शासन बिरुद्ध आवाज उठाइरहेका हुन्छन् । यो यस्तो समूह र शक्ति हो जसलाई अरुको टिप्पणीले खासै असर पार्दैन र नयां नयां सोच, खोज र चम्किलो भविष्यको आशामा हुन्छ संधै ।
विश्वको उच्चस्तरिय सुविधा सम्पन्न जीवन यापन गरिरहेका बेलायतका युवाहरुले चाहिं के सोच्दा होलान ? के उनीहरुका चाहना तेस्रो विश्वका युवाहरु भन्दा फरक छन् ? के हुन् उनीहरुका सपना ? कस्तो समाज चाहन्छन् उनीहरु ? कस्तो नेताको खोजीमा हुन्छन् उनीहरु ? समाज निर्माणमा आफूलाई कहांनेर राख्न चाहन्छन् ? यी साधारण लाग्ने प्रश्नहरुले त्यो देशको इतिहास, राजनैतिक, सामाजिक, वैज्ञानिक र अर्थ जस्ता विषयहरुलाई निर्देश गरेको हुन्छ ।
बेलायतको लेबर पार्टी लामो समय (२००९ देखि यता) प्रतिपक्षमा छ र अहिले यो पार्टीका नेता जेरेमी कोर्बीन प्रमुख प्रतिपक्ष र लेबर पार्टीका अध्यक्ष छन् । यी ६७ वर्षीय राजनीतिज्ञ अहिले तेश्री अर्जेन्टिनी श्रीमतीसंग बस्छन् र उनको जोस कुनै १६ बर्षे तन्नेरीको भन्दा कम छैन् । बिरोध भन्ने शब्द उनको नामको पर्याय हो । कसको बिरोध गरेनन् उनले ? कतिपटक त गिरफ्तारीमै परिसके । उनी एउटा बिद्रोहका पर्याय नै हुन् । उन्नाइस वर्षबाट दारी पाल्न थालेका उनले कति पटक त दारी ओफ इयर अवार्ड नै पाइसके । इतिहासमा संधै लेबर पार्टीका ब्याक बेन्चरका रुपमा चिनिएका जेरेमी संसदमा आफ्नै लेबर पार्टीको ह्वीपलाई ४० पटक भन्दा धेरै उल्लंघन गरेका छन् । मार्ग्रेट थ्याचर प्रधानमन्त्री हुंदा उनीसंग पनि टक्कर लिन पछि परेनन् । साइकल चढेर हिंड्ने यी नेताको आफ्नै कार छैन भनिन्छ र यिनी रक्सी चुरोट खांदैनन्, शाहाकारी हुन् । यिनी पब्लिक यातायात प्रयोग गर्छन्, आप्रवासीका पक्षमा वकालत गर्छन् । प्यालेस्टाइन आन्दोलनलाई समर्थन गर्छन्, इराक युद्ध बिरोधी हुन् । आणविक हतियार उन्मुलनका समर्थनमा जहिले पनि गर्जन्छन् । नारा जुलुस खुब मन पर्छ यिनलाई । त्यसैले त बेलायतका ट्रेड युनियनका प्यारा छन् उनी । गत साता मात्रै यिनी लण्डनबाट आफ्नै पार्टीको काममा ट्रेनबाट जांदा ट्रेनमा सिट नपाएर अरु यात्रुसरह भुइंमा बसेर तीन घण्टाको यात्रा यात्रीहरुसंग गफिंदै तय गरिदिए । खासमा भन्नुपर्दा यिनी आधुनिक पंूजीबादी ब्रिटिश समाजका डेमोक्रेटिक सोसलिस्ट हुन् ।
तर, त्यतिमामात्रै सिमित छैन् यिनको परिचय । विरोधीहरुले यिनलाई बेलायतको चे ग्वाभारा भन्छन् । माओको टोपी लगाई दिन्छन् पत्रपत्रिकाले । यी बेलायतका माक्र्स हुन् भनि उडाउंछन् । म्याद गुज्रिएका पुराना औषधिध हुन् भन्छन् कतिपय । आफ्नै पार्टीका उदारवादीहरुले यी हार्डलाइनरको पछि लागियो भने ब्रिटेनमा लेबर पार्टीको भविष्य छैन् भनि उनी विरुद्ध ठूलो स्वरमा विरोध जनाएका छन् र उनका क्याबिनेटका अधिकांस साथीहरुले उनीमाथि विश्वास छैन् भनि राजिनामा दिएको अवस्था छ । गतसाल मात्रै लेबर सदस्यहरुले चुनेर पठाएका जेरेमीलाई उनकै पार्टी भित्रका मानिसहरुले पार्टीमा एकता कायम गर्न नसकेको, ईयू जनमत संग्रहमा दरोसंग आफ्नो पक्षमा जनतालाई ल्याउन जांगर नदेखाएको र व्यक्तिगत आचरण आधुनिक बेलायत सुहांउदो नभएको र उनको पर्सनालिटी बेलायती प्रधानमन्त्रीका रुपमा अन्तर्राष्ट्रिय मन्चमा कमजोर देखिने भनि विभिन्न किसिमका आरोप लगाई फेरी दोस्रो पटक लेबर पार्टीको नतृत्वमा अर्का नेता ओवेन स्मिथसंग प्रतिष्पर्धा गर्नुपर्ने भएको छ र गर्दैछन् । यो कुराको मुद्धा फेरी लेबर पार्टीका सदस्यहरुले नै भोट मार्फत टुंगो लगाउने छन् ।
बोल्न सिपालु र सामान्य जीवन यापन गर्ने, सिद्धान्तमा अडिग यी बृद्ध नेताले ब्रिटेनको एउटा ठूलो आधुनिक पुस्तालाई भने नजानिंदो तबरले आकर्षित गरेका छन् र दारी पालेका एउटा बृद्धका पछाडि धेरै ठूलो संख्यामा भर्खरका युवा युवतीहरु पछि लागेका छन् । उनकै पालामा दुई लाख भन्दा धेरैले लेबर पार्टीको नयां सदस्यता लिएका छन् र त्यो पुस्ताले मोमेन्टम भन्ने एउटा बिशाल मास मुभमेन्ट नै यिनको समर्थनमा चलाएको छ । त्यसैले यिनैले फेरी पनि लेबरको नेतृत्व लिन सक्ने सम्भावना नकार्न सकिंदैन । तर, आफ्नो समाजबादी बिल्लालाई पंूजीवादी समाजमा कसरी आगाडि बढाएर लैजान्छन् त्यो चाहिं बडो रोचक विषय हुनेछ आजको आधुनिक पंूजीवादी ब्रिटेनमा । खुला बजार र निजीकरणको प्रबक्ता बेलायतमा बस्ने जनताले के जेरेमीको निजीकरण विरुद्धको जेहादलाई पचाउन सक्छन् ? के यो नीतिले बजारमा सेवामुलक काम गर्न सक्छ त ? यदि कुनैपनि ब्यापार नाफामुलक नहुंदा सेवामुलक भइरहेर कतिन्जेल सम्म टिक्न सक्छ ? के उनले भने जस्तै यति ठूलो बजेट घाटा भएको ब्रिटेनको अर्थतन्त्रले सरकारीकरण गरिएका संस्थाहरुलाई कतिन्जेल टिकाइराख्न सम्भव छ ? यदि यो सम्भव छ भने इतिहासमा समाजवादी अर्थतन्त्र किन धाराशाही भयो ? आज बेलायतका जनता यी प्रश्नहरुका उत्तर खोजिरहेका छन् जेरेमीतिर फर्केर । उनकै लेबर पार्टीभित्र पनि उनीसंग असहमत राख्नेहरुको संख्या बढ्दो छ । यहि हप्ता मात्रै लेबर पार्टीबाट लण्डनको मेयरमा निर्वाचित सदिक खानले जेरेमीको बिपक्षमा जेहाद छेडिदिएका छन् । चुनाव कसरी जित्न सकिन्छ भनेर उनलाई जति कसलाई थाहा होला । चुनावी खेलमा चतुर मानिएका यी पूर्व वकिलका भनाइले जेरेमीलाई लण्डनमा निकै गारो पर्न सक्छ । गतवर्ष आफ्नै पार्टी भित्रको चुनावी प्रतिष्पर्धामा चार जना उमेद्वार थिए तर यसपटक दुईजना मात्रै छन् र पहिलेका पुराना सबै प्रतिद्वन्द्वीहरु जेरेमी कोर्बीनका बिरुद्ध उभिंदै गएको देखिन्छ । यदि उनीहरुका अभिव्यक्तिहरु र विभिन्न सञ्चार माध्यमहरुलाई मान्ने हो भने उनी बिरुद्धको घेराबन्दी सायद बलियो बन्दै जांदैछ ।
केही दशक अगाडि एकपटक वेस्टमिनिस्टर परिसरमा पत्रकारले उनको सामान्य ड्रेसप्रति ब्यंग्य गर्दा उनले सहजसंग भनेका थिए, के म यहां फेसन शोको र्याम्पमा हिंड्न आएको हो ? म त जनताका कुरा राख्न पो आएको भनेर शिर उठाएर उत्तर दिएको भिडियो आज पनि यूटयुब जस्ता सोसल मिडियामा प्रस्टसंग हेर्न सकिन्छ । आफू बेलायतको प्रधानमन्त्री भए साउदर्न रेललाई राष्ट्रियकरण गर्छु भनि बाचा गरेका छन् । थाहा छैन् थ्याचरले बसाएको निजीकरणको बाटोलाई आजको आधुनिक ब्रिटेनले फेरी सरकारीकरण तिरको बाटो कसरी अवलम्बन गर्छ वा सम्भव छ छैन् भनेर । उनका पोलिसी
मेकरहरुलाई यो एउटा ठूलो च्यालेन्ज हुन सक्छ तर पहिला त उनी आफ्नै पार्टी भित्र निर्वाचित हुनु पर्नेछ । यदि उनी सत्तामा आए भने जुन कुरा अहिले लेबर पार्टीको आन्तरिक किचलो हेर्दा सत्तामा आइहाल्ने सम्भावना त्यति धेरै देखिंदैन तर राजनीतिले कुन दिशा पकड्छ त्यतिबेलासम्म त्यो चाहिं अहिले नै ठोकेर भन्न सकिने अवस्था छैन् । पहिले त लेबर पार्टीका सदस्यहरुले चलाएको मोमेन्टम मुभमेन्टले जेरेमीको नेतृत्वलाई कति सघाउन सक्छ अनि उनी आफैंले लेबर पार्टीको एकतामा आएको विचलनलाई कसरी सम्बोधन गर्न सक्छन्, उनी र उनको लेबर पार्टीको भविष्य र उनको पिछा गर्ने बेलायतको नयां पुस्ताको सपना साकार हुने वा तुहिने त्यसैमा निर्धारण हुनेछ ।
अस्तु