काठमाडौँ, १३ भदौ । ‘मैले छोरीलाई धेरै ठाउँमा खोजे, कहाँ जाऊँ कहाँ जाऊँ भयो । छोरी फेला नपारेसम्म हिंँडिरहेँ । पाँच वर्ष भौँतारिएपछि छोरी मारिएको ठाउँ फेला परयो । फलफूल चढाएँ । कुशबाट छोरी बनाएर संस्कार गरेँ, आज म दोसाँधको चिन्ताबाट मुक्त छु मेरो चिन्ता केही कम भयो, तर न्यायको खोजीमा अझै छु ।”
रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी), नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र बेपत्ता परिवार समाज नेपाल (नेफाद) ले अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा आज यहाँ संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमका बीचमा दाङकी भोलाजी चौधरीको यो भनाइ सुनिरहँदा धेरैको मन थामिएन ।
उहाँजस्तै तत्कालीन सशस्त्र द्वन्द्वका बेला राज्य पक्ष र विद्रोही पक्षबाट बेपत्ता पारिएका करिब दुई हजार आठ सय परिवारको पीडा चौधरीको जस्तै छ । सशस्त्र द्वन्द्वका बेला बेपत्ता आफन्तको अवस्था जान्न लामो समयदेखि प्रतीक्षारत रहे पनि अझैसम्म उनीहरुको अवस्था थाहा नपाउँदा पीडितलाई झनै पीडा थपिँदै गएको आभास सो भनाइबाट पुष्टि हुन्छ ।
कार्यक्रममा वक्ताले बेपत्ताको कारण जे जस्तो भए पनि सबै परिवारको पीडा एउटै भएकाले लामो समयदेखि आफन्तको प्रतीक्षारत पीडित परिवारलाई उचित जवाफ दिन एवम् उनीहरुको आवश्यकता सम्बोधन गर्न आग्रह गरिनाका साथै लामो प्रतीक्षापछि गठित ‘बेपत्ता व्यक्तिको छानबिन आयोग’ र सत्य निरुपण तथा मेलमिलाप आयोग’ले अन्तर्राष्ट्रिय मानवीय कानुनानुसार बेपत्ताको अवस्था तथा सत्य निरुपण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा आइसिआरसी काठमाडौँ नियोग प्रमुख आन्द्रे पाकेले बेपत्ता व्यक्तिको परिवारसँग ऐक्यभाव जनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । बेपत्ता व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आयोगमा दुई हजार ८४६ जनाको उजुरी परेको र अहिलेसम्म दुई हजार ८७० जना बेपत्ता भएको जानकारी आएको बताउनुभयो । घटना बुझ्न र प्रमाण सङ्कलन गर्न आयोग लागिपरेको बताउँदै उहाँले पीडित परिवारसँग सहयोगका लागि आग्रह गर्नुभयो ।
बेपत्ता परिवार समाज नेपालका अध्यक्ष रामकुमार भण्डारीले दैनिक रुपमा बेपत्ता परिवारका सदस्य कसरी बाँचेका छन् हेर्न अनुरोध गर्दै बर्साैँदेखि बेपत्ताका परिवारले उठाइरहेका आफन्तजनको अवस्थाबारे प्रस्ट पारिदिन सरकार र आयोगलाई अनुरोध गर्नुभयो । दशवर्षीय सशस्त्र द्वन्द्व (२०५२–२०६३सम्म) का क्रममा राज्य तथा तत्कालीन विद्रोही पक्षबाट एक हजार ३३४ जना बेपत्ता भएको बताइएको छ ।
कार्यक्रममा ‘अन्तिम बिदाइ’ शीर्षक वृत्तचित्र प्रदर्शन गरिएको थियो । वृत्तचित्रमा द्वन्द्वकालमा बेपत्ता आफ्नी छोरी अन्तिम पटक देखिएकी स्थानसम्मको भावनात्मक यात्रा तय गरेकी एक आमाको कथा तथा बेपत्ता भएका कारणले परिवारले भोगिरहेको पीडा तथा भावनालाई उतारिएको छ ।
सो अवसरमा बेपत्ता व्यक्तिका परिवारले बेपत्ता आफन्तको सम्झनामा देशका ३९ जिल्लामा निर्माण गरेका ५९ स्मारक तथा संरचनाको तस्बिर समावेश गरिएको ‘बेपत्ताको सम्झनामा’ नामक तस्बिर पुस्तिका समेत सार्वजनिक गरिएको थियो ।