साना (यमन), १३ भदौ । यमनमा इस्लामिक स्टेट समूहद्वारा गराइएको आत्मघाती कार बम विस्फोटनमा परी सरकार पक्षधर ५४ जना लडाकू मारिएको यमनी अधिकारीले बताएका छन् ।
घटनामा ७० जना घाइते भएका छन् भने तीमध्ये ३० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको यमनको दक्षिणी सहर एडेनमा उपचार भइरहेको छ ।
खाद्यान्न लिएर आएको एउटा मिनीट्रक सरकारी पक्षधर लडाकू भएको खुलास्थान हुँदै भवनभित्र पस्दै गर्दा एक्कासी विस्फोट भएको एक प्रत्यक्षदर्शीले बताए ।
उक्त ठाउँमा क्षणभरमै मृतक शरीर र क्षतविक्षत भएका शरीरका भाग छरिएर दर्जनौँ मानिस घटनास्थलमा घाइते अवस्थामा चिच्याउन थालेपछि सहयोगका लागि म पनि त्यहाँ पुगे, स्थानीय मोहमद ओस्मानले भन्नुभयो । यो ठूलो हत्याकाण्ड थियो, उहाँले थप्नुभयो ।
एडेनको स्वास्थ्य मन्त्रालयका निर्देशक खिद्रा लासौरले ५४ जनाको घटनास्थलमा नै मृत्यु भएको पुष्टि गर्दै ७० जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताउनुभएको छ ।
आफू सञ्चारमाध्यमलाई जानकारी दिने आधिकारिक व्यक्ति नभएको भन्दै नाम सार्वजनिक नगर्ने सर्तमा घटनाका प्रत्यक्षदर्शी एक सुरक्षाकर्मीले आक्रमणकारी अहमद सेफ नामधारी हुठी विद्रोही भएको बताए ।