काठमाडौँ, १५ भदौ । स्थानीय तहको क्षेत्र निर्धारणका लागि साझा धारणा बनाउने सिलसिलामा प्रमुख तीन दलबीच आज छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा दलहरू र स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगबीच छलफल गराइने र सोही छलफलका आधारमा भदौभित्र त्यस विषयलाई टुङ्गो लगाउनेबारे कुराकानी भएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
“नेकपा एमालेका अध्यक्ष र काँग्रेस सभापति मुलुक बाहिर रहेको भएपनि क्षेत्र निर्धारणबारे दलहरू र आयोगसँग कम्तीमा छलफल गर्नुपर्छ भनेर प्रधानमन्त्रीले नै बैठक आह्वान गर्नुभएको हो” – प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खानालले भन्नुभयो ।
छलफलमा प्रधानमन्त्री दाहाल र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, काँग्रेसबाट वरिष्ठ नेता पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र एमालेका तर्फबाट कावा अध्यक्ष वामदेव र नेता विष्णु पौडेल सहभागी हुनुहुन्थ्यो ।
यसैबीच, आजै प्रधानमन्त्री दाहालसँग स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगका प्रमुख बालानन्द पौडेलले भेट गर्नुभयो । सो अवसरमा प्रमुख पौडेलले आयोगको कार्यप्रगतिका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।