परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग दक्षिण तथा मध्यएसियाका लागि अमेरिकी सहायकमन्त्री निसा देसाई विश्वालले आइतबार परराष्ट्र मन्त्रालय सिंहदरबारमा भेटवार्ता गर्नुहुँदै । तस्बिरः रासस
काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रियाको पूर्णता, संविधानको कार्यान्वयन, पुनःनिर्माण तथा स्थानीय निकायको निर्वाचनसहितका आफूले अघि सारेका राष्ट्रिय प्राथमिकताप्रति संयुक्त राज्य अमेरिकाले सकारात्मक सहयोग र सद्भाव राखेकामा आभार प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ दक्षिण तथा मध्यएसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री निशा देशाई विश्वालसँगको भेटमा उहाँले नेपालको शान्ति प्रक्रिया, संविधानसभाको चुनाव, नयाँ संविधान, भूकम्पपछिको पुनःनिर्माण, भूकम्प पीडितलाई राहत एवम् विकास निर्माणमा अमेरिकी सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गर्नुभएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन एवम् पुनःनिर्माणसहित विकास निर्माणका एजेन्डामा अमेरिकाको सहयोग एवम् सद्भाव रहने विश्वास व्यक्त गर्नुभएको थियो ।
प्रधानमन्त्रीले अघि सारेका राष्ट्रिय एजेन्डाप्रति समर्थन जनाउँदै सहायक विदेशमन्त्री विश्वासले नेपालको प्रगति र समृद्धिप्रति अमेरिकाले नजिकबाट सहयोग गर्ने बताउनुभएको थियो । सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्को पनि उपस्थिति रहेको थियो ।
डा प्रकाशशरण महतसँग भेटवार्ता
परराष्ट्र मन्त्री डा प्रकाशशरण महतसँग दक्षिण तथा मध्यएसियाका लागि अमेरिकी सहायकमन्त्री निसा देसाई विश्वालले आइतबार परराष्ट्र मन्त्रालय सिंहदरबारमा भेटवार्ता गर्नुभयो ।
सो भेटका क्रममा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको आपसी हित तथा सम्बन्धका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा नेपालमा गतवर्ष गएको शक्तिशाली भूकम्पका साथै नेपालको विकासका विभिन्न क्षेत्रमा विगत लामो समयदेखि अमेरिकाले पु¥याउँदै आएको सहयोगका लागि मन्त्री डा महतले सराहना गर्नुभयो ।
भेटका क्रममा अमेरिकी सहायक मन्त्री विश्वालले अमेरिकालगायत विभिन्न देशमा पुनःस्थापनापछि नेपालमा बाँकी रहेका करिब १० हजार भुटानी शरणार्थीलाई नेपालले नै राख्ने प्रतिबद्धता गर्छ कि भन्ने जिज्ञासा राख्नुभएको थियो ।
परराष्ट्रमन्त्री डा महतले नेपालले मानवीय आधारमा भुटानी शरणार्थीलाई शरण दिएको र उनीहरुको हक अधिकारको सम्मान गर्दै आएको दोहा¥याउँदै उनीहरु विना शर्त र ससम्मान आफ्नो देशमा जान पाउनुपर्ने नेपालको अडानमा अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग हुनुपर्ने बताउनुभयो ।
भुटानले आफ्ना नागरिकलाई विनाशर्त स्वदेश फर्किने वातावरण मिलाउनुपर्ने नेपालको पुरानै अडान रहेको मन्त्री डा महतले स्पष्ट गर्नुभयो ।
साथै सो भेटका क्रममा अमेरिकी सहायक मन्त्री विश्वालले नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध थप विकसित गर्न एक द्विपक्षीय संयुक्त संयन्त्र निर्माणको प्रस्ताव गर्नुभएको थियो ।