राजविराज, २० भदौ । ‘सिरियल किलर’को रुपमा चिनिने भारतीय कुख्यात अपराधी मुस्तकिम भनिने रइस मियाँलाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।
मियाँले सप्तरीमा चार र सुनसरीमा एकै परिवारका तीनजना गरी सातको हत्या गरेको आरोप प्रहरीको छ ।
तीन वर्षअघि सातजनाको हत्या गरेर फरार भारतीय नागरिक रइसलाई नेपाली राहदानीसहित विदेश जाँदै गरेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल काठमाडौंबाट प्रहरीको विशेष टोलीले पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्ला लौकहा गमरिया घर भएका रइसले नेपाली नागरिकताको प्रमाणपत्र समेत प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लामो समयदेखि फरार रहेका रइस नेपाली नागरिकताका आधारमा ०७६५६६४३ नंम्बरको राहदानी बनाई रोजगारीका लागि विदेश जान लागिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीको विशेष टोलीले पक्राउ गरिएको हो ।
रइससहितका समूहमाथि २०६९ सालमा सप्तरीका सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुन तथा २०७० सालमा जन्डौल–६ की दुलारीदेवी साह र त्रिकोल गाविस–५ की निर्मलादेवी साहको हत्या गरेका आरोप छ ।
ती सबै हत्याका घटना पैसाको नियतले भएको अनुसन्धानवाट देखिएको जानकारी दिँदै प्रहरी उपरीक्षक ढकालले कुनै बहानामा मियाँले रकम लिने र त्यसपछि हत्या गर्ने गरेको अनुसन्धानमा देखिएको छ भन्नुभयो ।
उनीमाथि कर्तव्य ज्यान मुद्दा र नक्कली नागरिकता तथा राहदानी लिएको विषयमा थप विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।