लण्डन । युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले बिहीबार बेलायती प्रधानमन्त्री टेरेसा मेलाई बेलायतको जनमत सङ्ग्रहले इयुबाट बाहिरिने निर्णय गरेअनुसार यथाशक्य छिटो प्रक्रिया थाल्न आग्रह गरेका छन् ।
परिषद्का प्रमुख टस्क र बेलायती प्रधानमन्त्री मे बीच डाउनिङस्ट्रिटमा भएको भेटमा टस्कले भने,“अब बल तपाइको कोर्टमा छ । प्रक्रिया छिटै थालनी गर्नुहोस् ।”
उक्त अवसरमा दुई नेताबीच जनमत सङ्ग्रह पछि युरोप र बेलायतको सम्बन्धका बारेमा छलफलका क्रममा इयु प्रमुख टस्कले सो कुरा बताएका हुन् ।
टस्कले इयु सदस्य राष्ट्रले बेलायती प्रधानमन्त्रीका रुपमा मे ले लिसवन सम्झौताको धारा नं ५० अनुसार बेलायतको इयुबाट बहिर्गमन गरिने प्रक्रिया छिटो होस् भनी पर्खिरहेको बताए ।
उक्त छलफलका बारेमा बेलायती प्रधानमन्त्री मे का प्रवक्ताले प्रक्रिया अघि बढाउन सबै सँगसँगै काम गर्ने बताएको जानकारी पत्रकारलाई गराएका थिए ।
बेलायती प्रधानमन्त्री मेले इयुबाट बेलायतको बहिर्गमन प्रक्रिया सबै इयु सदस्य राष्ट्रको पहलमा हुने बताएकी थिइन् ।
अहिलेसम्म बेलायती प्रधानमन्त्री मेले लिसवन सम्झौताको धारा ५० सुरु गर्ने गृहकार्य गर्न सरकारलाई समय लागेको बताउँदै अस्वीकार गर्दै आएकी छिन् ।