भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतीय राष्ट्रपति भवनमा शुक्रबार शिष्टाचार भेटवार्ता गर्नुहुँदै । भेटमा परराष्ट्र मन्त्री डा प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकसमेत सहभागी हुनुहुँदै । तस्बिर ः हरि लामिछाने, नयाँदिल्ली, रासस
नयाँदिल्ली, ३१ भदौ । भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भारतीय राष्ट्रपति भवनमा आज भएको सो भेटमा दुवै मुलुकको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको थियो ।
भेटमा परराष्ट्र मन्त्री डा प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकसमेत सहभागी हुनुहुन्थ्यो ।
दाहालद्वारा गान्धी समाधिमा पुष्पहार अर्पण
प्रधानमन्त्री पुष्पकमल दाहालले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्पहार अर्पण गर्नुभएको छ । दाहालले आज गान्धीको समाधिमा फूलगुच्छा अर्पण गर्नुका साथै त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षरसमेत गर्नुभएको छ । भारतीय राष्ट्रपति भवनमा आयोजना गरिएको विशेष समारोहपछि प्रधानमन्त्री दाहाल राजघाट जानुभएको हो ।
भारतको औपचारिक भ्रमणमा जाने विदेशी राष्ट्रप्रमुख एवम् सरकार प्रमुखबाट गान्धीको समाधिस्थलमा पुष्पहार चढाउने चलन रहँदै आएको छ । भारतको स्वतन्त्रता आन्दोलनका नेतृत्वकर्ता गान्धीको सम्मानमा समाधिस्थल बनाइएको हो ।
प्रधानमन्त्री दाहालद्वारा ‘गार्ड अफ अनर’ ग्रहण
दाहालले ‘गार्ड अफ अनर’ ग्रहण गर्नुभएको छ । भारतीय राष्ट्रपति भवनमा आज विहान आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्री दाहाललाई उक्त सम्मानमा भारतीय सेनाको विशेष टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहालसँग हात मिलाउनुका साथै नेपाली प्रतिनिधिण्डलसँग परिचय गर्नुभएको थियो ।
बिहीबार नयाँ दिल्ली आउनुभएका प्रधानमन्त्री दाहाललाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल, उहाँकी धर्मपत्नी सीता दाहाल भारतका राष्ट्रपतिको निवास राष्ट्रपति भवनमा रहनुभएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, सांसदलगायत हुनुहुन्छ ।