काठमाडौँ, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी नेपालको संविधान घोषणा भएको प्रथम वार्षिक दिवसका उपलक्ष्यमा यहाँ आज आयोजित विशेष स्वागत समारोहमा सरिक हुनुभयो ।
सभामुख ओनसरी घर्तीद्वारा बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवन परिसरमा आयोजित उक्त विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानन्यायाधीश सुशीला कार्की उपस्थित हुनुहुन्थ्यो ।
यसअघि सभामुख घर्तीले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशलाई पुष्पगुच्छा दिएर स्वागत अभिवादन गर्नुभएको थियो ।
व्यवस्थापिका–संसद् भवनको भित्री मूलद्वार नजिक तयार पारिएको मञ्चमा उहाँहरुलाई आसीन गराइएको थियो । संसद् भवन परिसरलाई पानीको फोहोरा, झन्डा, तुल र ध्वजापताकाले सिँगारेर चिटिक्क पारिएको थियो । तत्कालीन राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधान– २०७२ लाई गत वर्ष असोज ३ गते संविधानसभाबाट जारी भएको घोषणा गर्नुभएको थियो । संविधानमा ३५ भाग, ३०८ धारा र नौ अनुसूची छन् ।
समारोहमा उप्रधानमन्त्री, मन्त्रीगण, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, राज्यमन्त्री, संसदीय समितिका सभापति, सांसद, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् सदस्य, मुख्य सचिव, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, कलाकार, उद्योगी तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति जलपान समारोहमा सहभागी हुनुहुन्थ्यो ।
अपराह्न ४ बजेका लागि बोलाइएको चियापान प्रधानमन्त्रीको आगमनमा केही ढिलाइ भएका कारण ४.४५ बजे सुरु भएको थियो ।
स्वागत समारोहमा विशिष्ट व्यक्तिको उपस्थितिलाई ध्यानमा राखेर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।