हवाना (क्युवा), ७ असोज । जापानका प्रधानमन्त्री सिन्जो आबे बिहीबार क्युवा पुग्नुभएको छ । जापानी प्रधानमन्त्रीको हैसियतले क्युवा भ्रमण गर्ने आबे नै पहिलो हुनुभएको छ ।
यस भ्रमणले दुई देशको सम्वन्धमा नयाँ अध्याय सुरु हुने प्रधानमन्त्री आबेले बताउनुभएको छ ।
क्युवा पुग्ने पहिलो जापानी प्रधानमन्त्रीका रुपमा इतिहास रच्नुभएका आबेले क्युवाका राष्ट्रपति राहुल क्यास्ट्रोलाई भेटेर आफ्नो देशले क्युवासँग नजिकको सम्वन्ध बनाउन चाहेको बताउनुभएको छ ।
“म इमान्दारिताका साथ आशा गर्दछु की, मेरो यहाँको बसाइँ दुई देशको मित्रताका लागि नयाँ अध्याय सुरुवात गर्ने अवसर बन्ने छ,” क्युवा कम्युनिष्ट पार्टीको आधिकारिक प्रकाशन ग्रान्मामा प्रकाशित अन्तर्वार्तामा आबेले बताउनुभएको छ ।
उहाँले क्युवाका क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोलाई पनि भेटेर पारमाणविक शक्तिका बारेमा कुराकानी गर्नुभएको छ ।
आबेले क्युवालाई व्यापारिक लगानीका लागि प्रेरित गर्न, विकासका कार्य सहकार्य गर्न र पर्यटन विस्तार गर्न खुल्ला छलफलको आह्वान गर्नुभएको पनि समाचार उल्लेख छ ।
उहाँले शुक्रबार बिहान क्यारिबियन द्वीप भ्रमणअघि पत्रकार सम्मेलनसमेत गर्नुभएको थियो ।
सन् १९७० देखि १९८५ सम्म जापान क्युवाको दोस्रो ठुलो व्यापारिक साझेदार भएको देशको रुपमा रहेको थियो । तर सोभियत सङ्घको विभाजनपछि यी दुई देशको सम्वन्धमा पनि व्यापक परिवर्तन भएको थियो ।
जापानी प्रधानमन्त्री आबे न्युयोर्कमा संयुक्त राष्ट्र सङ्घको महासभामा उपस्थितिपछि क्युवा पुग्नुभएको हो ।
जापानका विदेशमन्त्री फुमिओ किसिदाले गत मे महिनामा हावानाको भ्रमण गर्नुभएको थियो । यो भ्रमण जापानी विदेशमन्त्रीको पहिलो क्युवा भ्रमण भएको बताइएको थियो ।