प्रत्येक दिन कति नेपालीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदेश भ्रमणमा निस्किन्छन् र कति भ्रमणबाट फर्किन्छन् । त्यो भीडभित्रका धेरैजनाका यात्राका अनुभवहरु उनीहरुलाई मात्रै थाहा होला । तर कवि, गजलकार तथा साहित्यिक पत्रकार वियोगी बुढाथोकीले बेलायत भ्रमण गरेर यात्राका अनुभवहरुलाई समेटेर पुस्तक लेखेर आफ्ना अनुभवहरु अरुलाई पनि बांडे । अरुहरुको यात्रा र वियोगी दाईको यात्रामा त्यही फरक छ ।
वियोगी दाई बेलायत आइ पुगेको थाहा पाउने बित्तिकै मैले इमेल गरेको थिएं । इमेलको प्रत्युत्तरमा दाईले पठाएका थिए आफ्नो फोन नम्बर । फोन गरेर स्वागत गरेको थिएं । त्यसपछि अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानको कार्यक्रममा वियोगी दाईलाई निम्तो गरेका थियौं । त्यहीं भेट भयो, गफगाफ भयो । बेलायत यात्राको एउटा पुस्तक लेख्छु भनेका थिए दाइले । राम्रो विचार भनेको थिएं । तर, त्यत्ति छिट्टै नै उनका अनुभवहरुको पुस्तक नै बनिसक्छ भन्ने चाहिं लागेको थिएन । समाचारहरुमा पुस्तकको चर्चा भइसके पनि काठमाडौंमा प्रोल्लासजीले पुस्तक उपहार दिएपछि मात्रै हात परेको थियो – ‘किरिङमिरिङ सडकमा अलपत्र’ ।
वियोगी दाईका ‘समयलाई सन्चो छैन्’ (२०४२), ‘काठमाडौं धाइरहेछु’ (२०४९), ‘आफन्तका चोटहरु’ (२०५२), ‘छुटेका यादहरु’ (२०५३), ‘गजल तिम्रो नाम होइन’ (२०६३), ‘म गोपाल अर्थात् गोपालहरु’ (२०६४), ‘वियोगीका वियोगहरु’ (२०६७), ‘फूलका कुरा र प्रतिनिधि गजलहरु’ (२०६८) र ‘फर्किएं’ (२०७१) जस्ता कृतिहरु प्रकाशित भइसकेका छन् । विशेष गरी कविता, गजल र मुक्तकमा कलम चलाउने वियोगी दाईको ‘किरिङमिरिङ सडकमा अलपत्र’ नियात्रा कृति कवि डा. विष्णुविभु घिमिरेले भने झैं ‘गद्य–साहित्यतर्फको पहिलो पुस्तक हो ।’
देखेको कुरा लेखिहाल्ने वियोगीदाईले लेखेको कुरा तुरुन्तै फेसबुकमा पोष्ट गर्थे बेलायतबाट । तुरुन्तै आउंथे प्रतिक्रियाहरु पाठकबाट । त्यस्ता केही रचनाहरु र तिनीहरुका प्रतिक्रियाहरु पनि समेटिएका छन् पुस्तकमा । गजलकार ज्ञानुवाकर पौडेल प्रशंसा गर्दै भन्छन्, ‘कवि हुनुको नाताले होला, यो पुस्तकमा संस्मरणसित मेल खाने मुक्तक, गजल र कविता पनि बीचबीचमा समावेश गरेर यात्रा–साहित्यलाई थप पठनीयता प्रदान गर्ने वियागीको यो प्रयास कम्ति आकर्षक छैन् ।’
लेखक डा. अमर गिरी लेख्छन्, ‘नेपाली यात्रा–साहित्यलाई समृद्घ गर्न यस कृतिले महत्वपूर्ण योगदान दिनेछ ।’ समालोचक महेश पौड्यालले पनि प्रशंसा गर्दै भनेका छन्, ‘बुढाथोकीले भूमण्डलीकरणको युगमा अनेकन् व्यस्तताका बीच बांचिरहेका बेलायतबासी नेपालीहरुले नेपाली भाषा, साहित्य र सङ्गीतको उत्थान, संरक्षण र सम्बद्र्घनमा देखाएको लगनशीलता, समर्पण र जागरुकताको विशेष चर्चा गरेका छन् ।’
मुलतः पारिवारिक भेटघाटको सन्दर्भमा बेलायत आए पनि एउटा साहित्यकार सानो घेरामा बस्न कहाँ सक्छ र? वियोगी दाइलाई पनि बेलायतका साहित्यिक संघ संस्थाहरुले आरामले बस्न दिएनन । आफ्ना कार्यक्रमहरुमा निम्त्याइ रहे, सम्मान गरिरहे । वियोगीदाईले कहिले स्कटल्याण्डको कोठे कवि गोष्ठीहरुमा सक्रिय रुपमा सहभागी भएर त्यहांका कवि लेखकहरुलाई प्रोत्साहित गरिरहे भने कहिले उनी लन्डनका लेखकहरुसंग भलाकुसारीमा व्यस्त रहे ।
लेखकले बेलायतमा भेटेका कवि लेखकहरु तथा अन्य व्यक्तिहरुहरुसंग बिताएका क्षणहरुको मीठो वर्णन गरेका छन् पुस्तकमा । आफू पुगेका ठाउंहरुको रोचक ब्याख्या गरेका छन् । पुस्तकको अन्त्यमा रहेका तस्विरहरुले आफ्नै महत्व बोकेका छन् । भाषा सरल र मीठो छ ।
घरबाट बेलायत हिडेदेखि फर्केसम्मको विवरण छ पुस्तकमा । पुस्तक पढ्ने पाठकले वियोगी दाइसंगै बेलायत घुमेको अनुभव गर्छ ।