काठमाडौँ, १६ असोज । व्यवस्थापिका–संसद्मा आज शून्य समयमा भाग लिने सांसदहरुले बाढीपीडित र भूकम्पपीडितलाई दसँै अघि नै राहत र अनुदान रकम उपलब्ध गराउन माग गर्नुभयो । हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिन नहुने धारणा पनि उहाँहरुले राख्नुभयो ।
बैठकमा पहिलो वक्ताको रुपमा नेकपा (माओवादी केन्द्र)का सांसद दुलाली हरिजनले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाएपछि नेपाली भाषालाई पनि भारतले राष्ट्रिय भाषाको मान्यता देला भनी प्रश्न गर्नुभयो ।
उहाले भन्नुभयो – “नेपाली भाषा मात्रै राष्ट्रिय भाषा हुनुपर्छ । हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिइनु हुँदैन ।”
नेकपा (एमाले)का धनबहादुर घलेले भूकम्पछि तयार गरिएको लाभग्राहीको सूचीमा धादिङमा १४ हजार पीडितको नाम छुटेको भन्दै त्यसलाई सच्चाउन माग गर्नुभयो ।
एमालेकै सांसद नरबहादुर थापामगरले धौलागिरि अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक र परिचारिकाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।
माओवादी केन्द्रका सांसद प्रतीक्षा मुखिया तिवारीले सहिद परिवार, बाढीपहिरो र भूकम्पपीडितलाई दसँै अघि नै राहत दिइनुपर्छ भन्नुभयो ।
व्यवस्थापिका–संसद्को् अर्को बैठक यही असोज १८ गते मङ्गलबार ११ बजे बस्नेछ ।