लन्डन । ‘यो मन त मेरो नेपाली हो ।’ पक्कै पनि भूगोलले कहां छेक्न सक्छ र नेपालीपन, नेपालीमन । करिब ५ हजार माइल टाढा भएपनि महान पर्व दशैं बेलायतवासी नेपालीमाझ पनि आइ पुगेको छ । अनगिन्ती कार्यक्रम तय गरिएका छन् । मठ मन्दिरमा पूजापाठ जारी छ । घरघरमा जमरा हुर्किरहेका छन् । लन्डन बाहिर फार्ममै गएर सिंगो खसी ल्याउने योजना अधिकांशको छ ।
बेलायतमा नेपाली जनसंख्या लाख नाघेको आंकलन भइरहंदा सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूके र अक्सफोर्ड विश्वविद्यालयको एक अनुसन्धानले बेलायतमा रहेका ८५ प्रतिशत भन्दा बढि नेपाली घरपरिवारले दशैं मनाउने देखाएको छ ।
लन्डनस्थित नेपाली दूतावासले टिकाको अघिल्लो दिन दूतावास परिसरमा दशैं शुभकामना कार्यक्रम गर्ने तयारी गरेको छ । युरोपकै पुरानो संस्था यती नेपाली असोसिएसन यूकेले पनि दशैं तिहार कार्यक्रम तय गरेको छ अक्टोबर तेश्रो साता । अरु संघसंस्थाका पनि उल्लेख्य कार्यक्रम हुंदैछन् ।
बेलायती डायस्पोराका सामाजिक अगुवाहरुको दशैं योजना भिन्न भिन्न छ । तीन वर्षपछिमात्र प्राज्ञ डा. कृष्ण अधिकारीले बेलायतमा दशैं मनाउंदै छन् परिवारका साथ । ‘नेपालमा जस्तो रौनक त यहँं छैन्, कामको पनि चाप छ’, अधिकारीले योजना सांटे, ‘परिवारमा छोरा र म शाकाहारी छौं । हाम्रो लागि सेलरोटी र श्रीमती, छोरीका लागि खसीको मासु ‘अर्डर’ भइसकेको छ ।’
घरको पार्टीमा मदिरा समावेश नगर्ने र तास पनि नखेल्ने उनको दृढता छ । घरको आध्यात्मिक र सांस्कृतिक माहोल श्रीमतीले सम्हाल्छिन् । ‘दुर्गास्थापना र जमरा उमार्ने काम भइसकेको छ’, उनले सुनाए, ‘हाम्रो दशैंको केही भाग ‘भर्चुअल’ हुन्छ । दुर्गा भजन सुन्ने, साथीभाइलाई शुभकामना दिने अनि दशैंको दिन नेपालमा आमा र परिवारका सदस्यहरूसंग आशीर्वाद र शुभकामना लेनदेन गर्ने योजना बनेको छ ।’
देश, परदेश जहां रहेपनि सबै नेपालीका लागि पारिवारिक पुनर्मिलन, सुःख सांटासांट र मान्यजनबाट आशीर्वाद लिनु नै दशैंको मौलिकता ठान्छन् प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा । विगत १६ वर्षमा मुस्किलले २ वटा दशैं परिवारसंग नेपालमै मनाउन पाएको स्मरण गर्दै उनले अनुभूति सुनाए, ‘विदेशका धेरै दशैं अलिक निरास, अलिक खल्लो र केही कुरा अपुग अनुभूति गर्दैमा बितेको छ ।’
उनलाई तास जुवामा चाख छैन् । केही मान्यवरबाट टिका ग्रहण र सप्ताहन्त बाहेक काममै व्यस्त भइने उनले बताए । ‘कुनै दिन आफ्नैमा, कहिले आफन्तकहां दशैं निम्तो मान्ने योजनामा छु’, उनी भन्छन्, ‘समयले साथ दिएसम्म हिन्दी र नेपाली साहित्यका केही कृति पढ्ने सोच छ ।’
डार्टफोर्ड काउन्सिलर एवं नेशनल हेल्थ सर्भिस् (एनएचएस), लन्डनका वरिष्ठ व्यवस्थापक डा. बच्चु कैलाश कैनी यसपटकको दशैं नेपालकै जसरी
रमाइलोसंग मनाउने मुडमा छन् । ‘नेपालको दशैं हरेकको घर घरमा आउंछ, जतासुकै दशैं रमझम हुन्छ । यहां भने केवल आफ्नो घर भित्र मात्रै हो दशैं मान्ने’, उनले वाध्यता पोखे । उनले कामबाट पांच दिन दशैं छुट्टी पाएका छन् । श्रीमति र केटाकेटीसंगै अष्टमीका दिन घर नजिकैको हिन्दू मन्दिर जाने र दशमीमा साथीकी आमाबाट टिका ग्रहण गर्ने योजना उनको रहेछ ।
तास खेल्न आउंदैन् उनलाई । बरु यो दशैंमा खसीको झोल हालेको मासु, भुटुवा, मासु फ्राई, अचार आदि बनाउने र परिवारसंगै बसेर खाने विचार छ ।
बेलायतका सोलिसिटर राजु थापाले कामको बोझ र बेलायती परिवेशले लन्डनमा मौलिक दशैं अनुभूति गर्न पाएका छैनन् । ‘खाने पिउने र मान्यजनकहां गएर टिका लगाउने नै योजना छ’, उनले भने, ‘मेरो विचारमा हामी भन्दा पनि नयां पुस्ताले दशंैंबारे जानोस्, नेपाली कला संस्कृति अवलम्बन गरोस् भन्ने विषय प्रमुख हो ।’
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको दशैं विशेष कार्यक्रम केही छैन् तर विभिन्न संघसंस्थाका कार्यक्रम र आफन्तजनकहां गएर आतिथ्य ग्रहण गर्ने, खाने पिउने योजना छ । घरमा टिका कार्यक्रम नभएपनि अरु कहां गएर शुभकामना आदानप्रदान गर्दा मज्जा नै लाग्ने उनले सुनाए ।
त्यसो त २२ वर्ष अघि यूके आएको ताका दशैंमा जति जोस उत्साह थियो, अहिले औपचारिकतामा बढि खुम्चिएको ठान्छन् व्यवसायी एवं एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ । ‘त्यतिबेला दूतावास र यतीका दशैं कार्यक्रमको बेग्लै महत्व थियो । दशैंमा सबैसंग भेट्न पाइन्छ भन्ने कत्रो उत्साह हुन्थ्यो । अहिले त केवल मनाउनकै लागि मात्र दशैं मनाइए जस्तो लाग्छ,’ उनले भने ।
एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारीको यो साल टिका नहुने भएपनि केटाकेटीसहित पारिवारिक र स्टाफबीच जमघट गर्ने योजना छ । भण्डारी परिवारले दशैंमा बेलायती शुभचिन्तक, मेयर, काउन्सिलर एवं राजनीतिज्ञ बोलाएर नेपाली कला, संस्कृति अनि परम्पराबारे जानकारी दिंदै आएको छ । कतिपय बेलायती महिला त नेपाली सारी र टिका पोतेमा समेत सजिने स्मरण गर्दै उनले बेलायतीलाई नेपाली कला, संस्कृति र चाडपर्वप्रति ज्यादै चासो रहेको बताए ।
एनआरएनए आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित बाबु आमाको निधन पछि दशैंको महत्व आधा घटेर गएको अनुभूति गर्छन् । छोरीहरुको स्कुलका कारण सपरिवार दशैंमा उनी नेपाल जान नपाएको धेरै भएछ । घटस्थापनाको दिन हिन्दू विधिपूर्वक घटस्थापना गरी जमरा राखेको जनाउंदै उनले आफ्नो योजना सुनाए, ‘गत वर्ष जस्तै यो वर्षपनि रमाइलोसंग मनाउने विचार छ ।
अस्टमीका लागि चाहिने सामाग्री स्थानीय पसलमा अर्डर गरिएको छ । नवमीको दिन सेलरोटी र मिष्ठान्न परिकार पकाउने सोचिएको छ । टिकाको दिन बेलायतमा भएजति सबै परिवारका सदस्य मिलेर संगै टिका थाप्ने विचारमा छौं ।’
केही साथीका बालबच्चाहरु पनि टिका थाप्न आउने भएकाले त्यसले झन् रौनक थपिदिने उनले बताए । नेपालमा पनि टिकाकै दिन दाई भाउजु, दिदी भिनाजु, ससुराली पट्टि बुवा आमा, मामा माइज्यू र नजिकका इष्टमित्रलाई फोन, फेसबुक र भाइबरमार्फत टिका र आर्शीर्वाद थाप्ने र लगाइदिने उनको योजना छ । दिउसो सकेसम्म बढि नेपाली एउटै हलमा जम्मा भएर नेपालबाट आएका अभिभावक वा साथीभाइका बुवाआमासंगै बसेर टिका, जमरा र आर्शीवाद थाप्ने परम्परा शुरुवात गरिएको र यसलाई अहिले पनि निरन्तरता दिने विचार रहेको उनले सुनाए ।
बालबच्चालाई सांस्कृतिक जानकारी होस् र उनीहरुमा आफ्नो संस्कृति सञ्चार होस् भन्ने कुरामा विशेष ध्यान दिइएको उनी बताउंछन् ।
उनी विगत स्मरण गर्छन्, ‘वाल्यकालमा आफ्नै पहलमा गाउंमा रातभरी लगाएर लठ्ठो बाट्ने र पिंग हाल्दाको मज्जा बेग्लै हुन्थ्यो । पछिल्ला दिनहरुमा भने धेरै साथीभाई शहर वा विदेश भित्रिएकाले गाउंघरमा पनि
दशैंको रौनक विस्तारै कम हुंदै गएको छ ।’