याङ्गुन, १ कात्तिक । मध्य म्यानमारमा भएको एक डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको र अझै दर्जनौ मानिस बेपत्ता भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।
सो डुङ्गामा विद्यार्थी, शिक्षक र केही कामदार सवार रहेका बताइएको छ । शनिबार बिहानै भएको यस दुर्घटनाबाट १५४ व्यक्तिलाई भने उद्धार गरिएको छ । म्यानमारको मोनीवा सहरबाट ७२ किलोमिटर उत्तरमा पर्ने जलक्षेत्रमा सो दुर्घटना भएको थियो ।
उद्धारकर्मीले शुरुमा पानीमा तैरिएका मृत शरिरको मात्र उद्धार गरिरहेकाले डुबेको डुङ्गालाई पानी बाहिर ल्याउँदा मृतक सङ्ख्या १०० भन्दा बढी पुग्नसक्ने अधिकारीले बताएका छन् ।
सो डुङ्गामा २४० देखि २५० जनासम्म सवार रहेको अनुमान गरिएको छ । सो डुङ्गामा प्रायः विश्वविद्यालयका ७० देखि ८० जना विद्यार्थी करिब ३० जना शिक्षक केही चिकित्सक र अन्य १०० भन्दा बढी व्यक्ति बीचबाटोमा चढेका जनाइएको छ ।
सो दुर्घटनाबाट बाँच्न सफल भएका २७ वर्षीय एक विद्यायलका शिक्षिकाले बौद्धधर्मावलम्बीले मनाउने पर्वको आफ्ना एक वर्षीय छोरा र श्रीमान्सँग पारवारिक यात्रा गरिरहेकामा आफ्ना छोराको मृत्यु भएको र श्रीमान्को अवस्था अज्ञात रहेको बताएकी छन् । उनले डुङ्गामा क्षमताभन्दा बढी यात्रु राखेकोले डुङ्गा डुबेको उनको दावी छ ।
म्यानमारमा डुङ्गा यात्रामा सुरक्षाको कमी र क्षमताभन्दा बढी यात्रु डुङ्गामा सवार हुनुले बारम्बार दुर्घटनाका कारण बन्न गरेको अधिकारीले बताएका छन् ।