काठमाडौँ, ७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावलाई पारित गर्न ठूला दल एकताबद्ध भई जिम्मेवारीका साथ अगाडि बढ्नुपर्नेमा विद्यार्थी नेताहरुले जोड दिएका छन् ।
संयुक्त विद्यार्थी सङ्गठनले आज यहाँ आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा विभिन्न सङ्गठनका विद्यार्थी नेताले मुलुकमा विधिको शासन कायम गर्न सो प्रस्ताव अविलम्ब पारित गराउन सुझाएका हुन् ।
सो अवसरमा सम्बोधन गर्दै अनेरास्ववियुका अध्यक्ष नवीना लामाले अख्तियार प्रमुख कार्कीले न्यायालयका विरुद्ध गतिविधि गरेकोमा दुःख व्यक्त गर्दै त्यस्तो छुट कसैलाई पनि नरहेको बताउनुभयो । नेवि सङ्घका महामन्त्री कुन्दन काफ्लेले मुलुकमा न्यायिक सर्वोच्चता कायम राखी विधिको शासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
अनेरास्ववियू (क्रान्तिकारी केन्द्र) का अध्यक्ष नरेन्द्र न्यौपानेले देशमा कानुनी राज्य तथा जनताको सार्वभौम अधिकारलाई गरिमामय बनाउन सो प्रस्ताव अविलम्ब पारित गराउन माग गर्नुभयो ।
मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) निकट विद्यार्थी सङ्गठनका अध्यक्ष कपलेश्वर यादवले विधि र प्रक्रियाका आधारमा सो प्रस्तावलाई चाँडो किनारा लगाउन आग्रह गर्नुभयो ।
अनेरास्ववियुका सचिव आरसी लामिछानेले मुलुकमा विधिको शासन कायम गरी लोकतन्त्रलाई संस्थागत गर्न सो सङ्गठनले आवश्यकताअनुसार दबाबमूलक कार्यक्रम गर्ने जानकारी दिनुभयो ।