भारतबाट आउने हात्तीले बाहुनडाँगीवासीलाई दुःख दिन थालेपछि नेपाल सरकारका तर्फबाट निर्माण भएको सौर्य विद्युतीय तारबार (सोलार फेन्सिङ) को उद्घाटन गर्दै वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारी । तस्बिर ः चन्द्रकला भण्डारी, रासस झापा
काँकडभिट्टा (झापा), १२ कात्तिक । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले भारतबाट आउने जङ्गली हात्तीको प्रवेश रोक्न उत्तरी झापामा निर्माण गरिएको १८ किलोमिटर लामो सौर्य विद्युतीय तारबारको आज उद्घाटन गर्नुभएको छ ।
विश्व बैंकको सहयोगमा रु एक करोड २० लाखको लागतमा बाहुनडाँगी गाविसको पूर्वी भागमा मेची नदी नजिक सौर्य विद्युतीय तारबार निर्माण गरिएको हो । विसं २०७१ माघ २३ गते तत्कालीन वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले तारबारको शिलान्यास गर्नुभएको थियो । उद्घाटन जनाउने शिलास्तम्भको अनावरण गर्दै मन्त्री भण्डारीले तारबारको उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा मन्त्री भण्डारीले बाहुनडाँगीले लामो समयदेखि जङ्गली हात्तीको आतङ्क सहनु परेकामा दुःख व्यक्त गर्दै अब स्थानीयवासीको सुख र शान्तिको दिन आएको बताउनुभयो । मन्त्री भण्डारीसमक्ष स्थानीयवासीले हात्तीको आक्रमणमा ज्यान गुमाएका परिवारलाई सरकारले हाल रु पाँच लाख दिइरहेकामा त्यसलाई बढाएर रु सात लाख पुरयाउन माग गरेका थिए ।
स्थानीयवासीको मागलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले अब कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै कथम्कदाचित ज्यान गुमेमा रु १० लाख राहत उपलब्ध गराउन पहल गर्ने आश्वासन दिनुभयो ।
उद्घाटनका अवसरमा झापाका सांसद रवीन कोइराला, उषा गुरुङ, नरेन्द्र विक्रम नेम्वाङ, सरिता प्रसाइं, नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।