काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समझदारीका आधारमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरूद्धको महाअभियोगलाई अगाडि बढाउने बताउनुभएको छ ।
“महाअभियोग दर्ता हुनुभन्दाअघि पनि (एमाले) अध्यक्ष, काँग्रेसका सभापति र म बसेका थियौँ, जे गर्नुछ, सहमतिमै गर्नुपर्छ भनेर जोड दिएकै हो, अहिले दर्ता भएर प्रक्रिया अघि बढेपछि पनि मेरो जोड सबै प्रमुख दलको सहमति होस् भन्ने नै छ”– प्रधानमन्त्री दाहालले भन्नुभयो ।
माओवादी विट र प्रधानमन्त्री कार्यालय हेर्ने पत्रकारसँगको भेटका क्रममा आज प्रधानमन्त्री दाहालले महाअभियोग प्रस्तावपछि काँग्रेस र माओवादी केन्द्रबीच अविश्वास बढेकोभन्दा पनि कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल भइरहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन, राष्ट्रिय एकताको वातावरण बनाउन, छिमेकीसँगको सम्बन्ध सुमधुर बनाउन र आर्थिक विकासको निम्ति सकारात्मक वातावरण सिर्जना गर्न पत्रकारसँग आग्रह गर्नुभयो ।
सबैको सहमतिमा छिट्टै संविधान संशोधन
प्रधानमन्त्री दाहालले सत्तापक्ष र प्रतिपक्ष सबैको सहमति जुटाएर संविधान संशोधनलाई अन्तिम रूप दिने उद्देश्यले दलसँगको भेटलाई तीव्र बनाएको पनि बताउनुभएको छ । संविधान संशोधनबारे मधेसी मोर्चासँग आज मात्रै अनौपचारिक छलफल भएको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री दाहालका अनुसार सीमाङ्कन, भाषासम्बन्धी, राष्ट्रियसभामा प्रतिनिधित्व र नागरिकतालगायत चारवटा विषयमा बढी केन्द्रित भएर संविधान संशोधन गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित सबै जिल्लामा एकसाथ पुनःनिर्माण कार्यलाई अगाडि बढाउन अहिले अनुगमन भइरहेको पनि बताउनुभयो ।
भारतीय राष्ट्रपतिको भ्रमणको अन्तिम तयारी
प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका दिन सार्वजनिक बिदा दिने निर्णय सबै दलको सहमतिमा गरिएको प्रष्ट पार्नुभएको छ । प्रधानमन्त्री दाहालका अनुसार भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणबारे अन्तिम तयारी भइरहेको छ ।
“सबै पक्षको छलफलका क्रममा विदेशी राष्ट्रपति आउँदा बिदा दिने चलन पनि छ र छैन पनि भन्ने कुरा आएको थियो, राष्ट्रपतिको सम्मान र ट्राफिक जामबाट जनताले सास्ती खेप्न नपरोस् भनेर त्यो दिन बिदा दिइएको हो”– उहाँले भन्नुभयो ।
आफ्नो भारत भ्रमणले नेपाल–भारतबीचको सम्बन्ध सकारात्मक दिशातर्फ केन्द्रित भएको उहाँको भनाइ थियो ।
“मेरो गोवा (भारत) भ्रमणका क्रममा नेपाल र चीनबीच केही सम्झौता त्यहीँ गोवामै गरौँ भन्ने कुरा आएको थियो तर मैले नेपाल र चीनबीच हुने सम्झौता काठमाडौँ वा बेइजिङमै गरौँ भनेको छु”– प्रधानमन्त्री दाहालले भन्नुभयो ।