भक्तपुर, १५ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयभित्रै देशको तीनवटै संरचनाको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।
नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उहाँले निर्वाचन हुन्न कि भनेर शङ्का नगर्न आग्रह गर्नुभयो ।
प्रदेश र संसद्को निर्वाचन गर्न पनि स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्ने चर्चा गर्दै उहाँले सभापति देउवाले भन्नुभयो–“संविधानले निर्धारण गरेको समय सीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद् एवम् प्रतिनिधिसभाको निर्वाचन हुन्छ, यसमा कसैले शङ्का गर्नुपर्दैन, यो जिम्मेवारीलाई नेपाली काँग्रेसले पूरा गर्छ ।”
उहाँले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन लागेको बताउँदै एमालेलगायतका दलले काँग्रेसको बारेमा छरेको भ्रम मेटाउन काँग्रेस लाग्नुपर्ने बताउनुभयो ।
देशको सम्बृद्धिका लागि सबै निर्वाचनमा नेपाली काँग्रेसको बहुमत आउनुपर्ने दाबी गर्दै उहाँले निर्वाचनको तयारीमा जुट्न काँग्रेस कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारको परराष्ट्र नीतिमा कुनै कमजोरी नगरेको स्पष्ट पार्दै उहाँले विगतका सरकारले गरेका सन्धि र सम्झौतालाई कार्यान्वयन गर्न तयार रहेको बताउनुभयो ।
त्यस अवसरमा सांसद् मनमोहन भट्टराई, नेपाली काँग्रेस भक्तपुर सभापति दुर्लभ थापा, नेवि सङ्घका अध्यक्ष नैनसिंह महर, नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं–१ का सभापति जीवन खत्री, क्षेत्र नं–२ का सभापति नारायणभक्त खायमलीलगायतले संविधान कार्यान्वयन गराउनेतर्फ काँग्रेसले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।