मध्यपुर थिमि, १५ कात्तिक । शङ्खधर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा नेपाल संवत् ११३७ प्रारम्भ भएको खुसियालीमा आइतबार साँझ यहाँ सुकुन्डा रयाली निकालियो ।
नेपाल भाषा आन्दोलनका अग्रज मल्ल के सुन्दरबाट शुभारम्भ गरिएको उक्त रयाली बालकुमारी, मरुटोल, लाय्कू, दुई पोखरी, दिगुटोल, चपाचो, बाहाखा हुँदै नगदेशमा पुगेर सम्पन्न भएको थियो ।
सो अवसरमा उहाँले नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाले नेपाली जनताको ऋण मोचन गरी चलाएको नेपाल संवत् कुनै जाति विशेष नभएको बताउनुभयो ।
कार्यक्रममा न्हूदँ ग्वसा खलःका अध्यक्ष ज्ञानदेव श्रेष्ठ, शङ्खधर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठ, सचिव केशवमान श्रेष्ठ, सञ्चालक कृष्णदेव श्रेष्ठलगायतले नेपाल संवत्को महत्व र शङ्खधर साख्वाको योगदानबारे प्रकाश पार्नुभएको थियो ।
नेपाल संवत् ११३७ को अवसरमा शंखधर प्रतिष्ठानद्वारा सोमबार मध्यपुर थिमिमा आयोजित कार्यक्रममा नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको सालिकमा माल्यार्पण कार्यक्रममा नगदेश सांस्कृतिक पुचःको तर्फबाट महाकाली नाच प्रस्तुत गर्दै । तस्बिर ः रत्न श्रेष्ठ, रासस