राष्ट्रपति मुखर्जी र विभिन्न दलका नेताहरुबीच भेटवार्ता
भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरु भेटवार्ता गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १८ कातिक । नेपालको तीनदिने भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी र नेकपा (एमाले)का अध्यक्ष एवम प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रपति मुखर्जी बस्दै आउनुभएको होटल ह्यातमा भएको भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
भेटका अवसरमा अध्यक्ष ओलीले राष्ट्रपति मुखर्जीको भ्रमणको सफलता र दुई देशको मित्रता अघि बढोस् भनी शुभकामना व्यक्त गर्नुभएको थियो ।
राष्ट्रपति मुखर्जीले भारतले नेपालमा स्थिरता होस्, राम्रो होस्, विकास होस् भन्ने चाहन्छ भन्ने कुरा सो अवसरमा राख्नुभएको अध्यक्ष ओलीले जानकारी दिनुभयो । ‘‘हामी नयाँ संविधान कार्यान्वयनको चरणमा छाँै, संविधान कार्यान्वयनको निम्ति अघि बढिरहेका छाँै’’ भन्नेबारेमा अध्यक्ष ओलीले राष्ट्रपति मुखर्जीलाई जानकारी गराउनुभएकामा उहाँले त्यसप्रति खुसी व्यक्त गर्नुभएको थियो ।
भेटका अवसरमा उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, महासचिव ईश्वर पोखरेल, नेत्री अष्टलक्ष्मी शाक्य, डा राजन भट्टराईलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग मधेसी जनअधिकार फोरम नेपालका नेता विजयकुमार गच्छदार भेटवार्ता गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त,रासस
भारतीय राष्ट्रपति मुखर्जीसँग सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध मधेसवादी राजनीतिक दलका नेताहरुले भेटवार्ता गर्नुभएको छ ।
नेपालको तीनदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति मुखर्जीलाई उहाँ बस्दै आउनुभएको होटल ह्यातमा उहाँहरुले आज साँझ भेटवार्ता गर्नुभएको थियो ।
भेटका अवसरमा उहाँहरुले दुई देशबीचको सम्बन्ध, मधेसवादी दलको चासोका साथै नेपालको संविधानमा देखिएको त्रुटिलाई सच्याउन गर्दै आएको आन्दोलनका बारेमा राष्ट्रपति मुखर्जीलाई जानकारी गराउनुभएको थियो ।
भेटपछि नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालको संविधान त्रुटिपूर्ण भएकाले त्यसलाई पूर्णता दिन आफूहरु लागिपरेको तथा त्यसमा भएका कमीकमजोरीलाई सच्याउन लामो सङ्घर्ष गर्नुपरेको जानकारी गराएको बताउनुभयो । सो अवसरमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झालगायतका नेताहरु सहभागी हुनुहुथ्यो ।
यसैबीच, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पनि राष्ट्रपति मुखर्जीसँग सोही होटलमा आजै साँझ शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा राष्ट्रपतिको भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध अझ सुदृढ होस् भनी आफूले शुभकामना व्यक्त गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगतमा नेपाल र भारतबीच देखिएको चिसोपना यो भ्रमणबाट मेटिनेछन् भन्ने कुरा बताएँ ।” राष्ट्रपति मुखर्जीले नेपालमा देखिएको राजनीतिलगायतका सबै समस्या सहमतिका आधारमा मिलेर समाधान होस् भनी शुभकामना व्यक्त गर्नुभएको उहाँले बताउनुभयो ।
सोही स्थानमा नेपाल परिवार दलका सांसद मिलन राजवंशीलगायतको टोलीले समेत राष्ट्रपति मुखर्जीसँग भेटघाट गरेको थियो ।
राष्ट्रपति मुखर्जीसँग काँग्रेसका नेताको भेटवार्ता
भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग बिहीबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरु भेटवार्ता गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त, रासस
मुखर्जीसँग नेपाली काँग्रेसका नेताहरुले आज साँझ शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राजधानीको ह्यात होटलमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र विकास निर्माणका परियोजना कार्यान्वयन गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्रीसमेत रहनुभएका काँग्रेस नेता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।
राष्ट्रपति मुखर्जीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ एवम् प्रगाढ भएको, दुई देशबीच विश्वासको बाताबरण मजबुत भएको, सद्भाव विकसित भएको र थप सहयोगका क्षेत्रहरु पहिचान भएको काँग्रेस नेताहरुको निष्कर्ष छ ।
सो अवसरमा भारतीय प्रौद्योगिकी संस्थान आइआइटीको अध्ययन कोटामा नेपाली विद्यार्थीलाई भारतीय विद्यार्थीसरह सुविधा दिने विषयमा समेत छलफल भएको बताइएको छ ।
भेटमा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा रामशरण महत, गोपालमान श्रेष्ठ, डा मीनेन्द्र रिजाल र ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुहुन्थ्यो ।