विभिन्न राजनीतिक दलका नेताले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने नेपाल भ्रमण सफल भएको दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले चिसिएको नेपाल–भारत सम्बन्धमा न्यानोपन ल्याएको बताउनुभयो ।
उहाँले राष्ट्रपति मुखर्जीको यो भ्रमण सद्भावपूर्ण भएकाले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा सुधार तथा विश्वासको वातावरण बनेको धारणा राख्नुभयो ।
नेकपा (एमाले) का नेता डा राजन भट्टराईले भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण सौहार्दपूर्ण भ्रमण भएकाले उहाँको भ्रमणले नेपाल–भारत सम्बन्ध सुमधुर बनाउन सकारात्मक योगदान पुरयाउने बताउनुभयो ।
उहाँले असन्तुष्टको माग संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै अब नेपालमा राजनीतिक कुरामा भन्दा आर्थिक विकास र सामाजिक रुपान्तरणको लागि बढी ध्यान दिनुपर्ने विचार राख्नु भयो ।
नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले मुखर्जीको नेपाल भ्रमणले द्धिपक्षीय सम्बन्धमा सुधार आएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मुखर्जीको यो सद्भावपूर्ण भ्रमणलाई हाम्रो पार्टीले एकदमै सकारात्मक रुपमा लिएको छ, यो भ्रमणले द्धिपक्षीय सम्बन्ध थप बलियो बनाउँछ ।”
फोरम (लोकतान्त्रिक)का नेता जीतेन्द्र देवले राष्ट्रपति मुखर्जीको तीन दिने नेपाल भ्रमणले नेपाल–भारतबीचको द्धिपक्षीय सम्बन्ध विश्वासमा परिणत भएको दाबी गर्नुभयो ।
तराई मधेस सद्भावना पार्टीका नेता महेन्द्रराय यादवले मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध सुधार गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मुखर्जीको भ्रमण हामी सबैको लागि खुसीको विषय हो, उहाँको भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा आपसी विश्वास बढाएको छ ।”