काठमाडौँ, १३ मङ्सिर । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र न्युजिल्यान्डका विदेशमन्त्री मुर्रे म्याककुलीबीच सोमबार भेटवार्ता भएको छ ।
दुई देशबीचको उच्चस्तरीय मन्त्रीस्तरीय भेटवार्ता भएको यो नै पहिलो हो ।
समकक्षी परराष्ट्र मन्त्रीसँग करिब एक घन्टाको भेटवार्ताको क्रममा मन्त्री डा महतले न्युजिल्यान्डसँगको आपसी सम्बन्ध, सहयोग, शैक्षिक अनुदान, विस्तारका विषयमा महत्वपूर्ण छलफल भएको बताउनुभयो ।
एन्डमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथामाथि विजय प्राप्त गर्दै गर्दा दुई देशको झन्डा फहराएको प्रसङ्ग जोड्दै मन्त्री डा महतले वार्ता निकै महत्वपूर्ण र रोचक रहेको बताउनुभयो ।
मन्त्री महतका अनुसार वार्ताका क्रममा शैक्षिक अनुदान र छात्रवृत्ति अनि कृषिमा पशुपालन र दुग्ध प्रशोधनका सम्बन्धमा न्युजिल्यान्डले सहयोग गर्न सक्ने विषयमा समेत छलफल भएको थियो ।
सो अवसरमा न्युजिल्यान्डका परराष्ट्रमन्त्री म्याककुलीले नेपालमा जलविद्युत्मा लगानी र सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको थियो ।
मन्त्री महतले न्युजिल्यान्डको प्रवेशाज्ञासमेत लिन नयाँदिल्ली धाउनुपर्ने समस्याका विषयमा समेत मन्त्री म्याककुलीलाई अवगत गराउनुभएको थियो ।
प्रतिउत्तरमा न्युजिल्यान्डका मन्त्री म्याककुलीले अस्ट्रेलियाले नेपालबाट भिसा जारी गरे आफूहरु पनि उनीहरुसँगै सहकार्य गरेर प्रक्रिया अगाडि बढाउन तयार रहेको जानकारी गराउनुभएको थियो । मन्त्री महत आजै स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।