बैंकक, १५ मङ्सिर । थाइल्यान्डका युवराज महा भाजिरालोङकोर्नलाई नरेश बनाउने मन्त्रिपरिषद्को प्रस्तावलाई अनौपचारिक रुपमा उहाँले स्वीकार गरिसक्नुभएको उपप्रधानमन्त्री प्रावित वङसुवानले बुधबार बताउनुभएको छ ।
“युवराजले राज्याभिषेकका लागि गरिएको निमन्त्रणालाई स्वीकार गरिसक्नुभएको छ, राज्याभिषेकका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छौँ,” प्रवितले बुधबार बिहान संवाददाताहरुसँग भन्नुभयो ।
थाइल्यान्डको संसद्ले मङ्गलबार उहाँलाई राज्याभिषेकका लागि औपचारिक रुपमा आग्रह गरेको थियो । युवराज भाजिरालोङकोर्न आफ्ना पिताको देहावसानको निकै सातापछि मुलुकको नरेश बन्ने मार्ग खुल्ला भएको हो ।
अत्यधिक श्रद्धा गरिने नरेश भूमिबोल अदुल्यादेजको गत अक्टोबर १३ मा ८८ वर्षको उमेरमा देहावसान भएको थियो । उहाँले थाइल्यान्डमा ७० वर्ष शासन गर्नुभएको थियो ।
यसअघि युवराज भाजिरालोङकोर्नले आफ्ना पिता भूमिबोलको देहावसानपछि आफू शोकमा रहेको अवस्थामा आफ्नो नाम नरेशका रूपमा घोषणा गर्ने काम रोक्न आग्रह गर्नुभएको सैनिक सरकारले घोषणा गरेको थियो ।
मङ्गलबार मन्त्रिपरिषद्ले घोषणा गरेपछि स्वर्गीय नरेश भूमिबोलको उत्तराधिकारीका विषयमा आशङ्का हटेको छ ।
चौँसट्ठी वर्षीय युवराज भाजिरालोङकोर्नलाई चार दशकअगाडि नै नरेश भूमिबोल अदुल्यादेजको उत्तराधिकारीका रूपमा घोषणा गरिएको थियो । औपचारिक रुपमा थाइल्यान्डमा नरेशको सीमित संवैधानिक अधिकार रहेको छ ।
सात दशकसम्मको शासनमा भूमिबोलले सम्मानजनक राजाका रुपमा रहनुभएको थियो । विशेषगरी उहाँ थाइल्यान्डको शक्तिशाली सैनिक सम्भ्रान्त वर्गमा शक्तिशाली सञ्जाल तयार गर्नुभएको थियो । उहाँले थाइल्यान्डमा सङ्कटको समयमा मध्यस्थकर्ताको कार्य पनि गर्नुभएको थियो ।
तालिम प्राप्त विमानचालक रहनुभएका युवराज भाजिरालोङकोर्नले आफ्नो पिताको जस्तो सम्मान प्राप्त गर्न बाँकी छ । उहाँको तीनपटक सम्बन्ध विच्छेद भएको र प्रहरीको भ्रष्टाचारका विषयमा उहाँका पूर्वपरिवारको नामसमेत जोडिने गरेको छ ।
नरेश भूमिबोलको देहावसानपछि युवराज भाजिरालोङकोर्नले अन्त्येष्टिका केही दैनिक संस्कारमा भाग लिनु भए तापनि कुनै सार्वजनिक भनाइ राख्नुभएको छैन ।
एक वर्षको शोक अवधिसम्म अन्त्येष्टिको संस्कार कायम रहने त्यहाँको प्रचलन छ । थाइल्यान्डमा स्वर्गीय नरेशको अन्त्येष्टिको संस्कार सम्पन्न भएपछि मात्र नयाँ नरेशलाई श्रीपेच पहिरयाउने चलन रहेको छ ।