काठमाडौँ, १९ मङ्सिर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई पहिलो किस्ताको अनुदान वितरण गर्न अहिलेसम्म रु २७ अर्ब ३० करोड सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निकासा गरेको छ ।
मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइकाअनुसार मङ्सिर १९ गतेसम्म पाँच लाख ३० हजार ६४६ घरधनीसँग अनुदान सम्झौता भएको छ । तीमध्ये चार लाख ४४ हजार ४६२ घरधनीको पहिलो किस्ता बैंक खातामा जम्मा भइसकेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।
“गत असोज १० गते बसेको निर्देशक समितिको बैठकको निर्णयअनुसार भूकम्पपीडित जनतालाई तीन किस्तामा रु तीन लाख अनुदान उपलब्ध गराउने गरी कार्यकारी समितिको ३८औँ बैठकबाट निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधिको परिमार्जित मस्यौदालाई अन्तिम रुप दिई मन्त्रिपरिषद्समक्ष पेस गर्ने निर्णय भएको छ”– उहाँले भन्नुभयो ।
चालु आर्थिक वर्षका लागि निर्देशक समितिको बैठकबाट स्वीकृत भएको रु एक खर्ब सात अर्ब बजेटमध्ये विभिन्न मन्त्रालय तथा निकायका कार्यक्रम स्वीकृत गरी चालुतर्फ रु २९ अर्ब ७८ करोड आठ लाख ९६ हजार र पंूजीगततर्फ रु २२ अर्ब ६३ करोड ६० लाख ७४ हजार अख्तियारी प्रदान गरिएको प्राधिकरणले जनाएको छ ।