काठमाडौँ ५ पुस । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन गर्दा शासकीय स्वरुपमा पनि संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय युवा अभियानको प्रथम सङ्घीय महाधिवेशन आयोजक समितिले आज यहाँ ‘मुलुकको समृद्धि र स्थायी सरकारका लागि प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्र प्रमुखको आवश्यकता’ विषयक अन्तरक्रियामा उहाँले देशलाई विकास र समृद्धितर्फ डोरयाउने एकमात्र व्यवस्था प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली भएका हुनाले अहिले भएको शासकीय स्वरुपमा संशोधन गरी सो व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका संयोजक भट्टराईले विभिन्न जातजाति, भाषाभाषिलाई समेट्न प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले नै मन्त्रीमण्डल बनाउनुपर्नेमा जोड दिदैं निर्वाचित कार्यकारी व्यवस्थाले देशलाई स्थिरतातर्फ लैजाने भएकाले यसमा बाहिरी तत्वले पनि चलखेल गर्न नपाउने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको आवश्यकता रहेको उल्लेख गदै त्यसले स्थायी सरकारको निम्ति बाटो निर्माण गर्ने बताउनुभयो ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य रवीन्द्र अधिकारी एमाले पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा रहेको बताउदै त्यसका लागि संविधान संशोधन गर्न तयार रहेको धारणा राख्नुभयो ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) उपाध्यक्ष जितेन्द्र देवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको व्यवस्थालाई पनि समावेशी बनाउनुपर्नेमा जोड दिनुभयो ।