भानुभक्तको बिर्के टोपीमा

(१)
कलम मसीको आवरणमा
चिटिक्क ढाकाटोपी ढल्काएर
लेखिएको अक्षरहरुमा
जति खोतल्यो उति भेट्टाइने
जति केलायो उत्ति गन्हाउने
विद्वक्षिरोमणि कलमबाजहरु
लुकाउदा लुकाउँदै देखिइनै रहेछन् ।

(२)
लिपिमा लतपलिएको राष्ट्रियतामा
काइते देशभक्ति देखाउने वैंशवादीहरु
भोका काठमाडांैको गल्ली गल्छी
दौड्ने भोका खिच्चा कुकुर पेटमा
चौलानीको जुका परेको लालच
दक्षिणतर्फ नदीहरुसितै बगिइनै रहेछन् ।

(३)
हँुदाहँुदैका घरहरु उजाड बनाएर
दिनदहाडै उजाडिएको घर लुट्नेहरु
सेरियाको संग्रामको डर देखाएर
हाउगुजीले धमिलो पानीमाथि
बेवकुफहरु मालिक खुसी पार्न
आफैंमाथि जाल हानिरहेछन् ।

(४)
भत्किएको आफ्नै गाम ठाममा
धर्मध्वोजी राष्ट्रियता खोज्नुपर्दा
विदेशमा बचेखुचेको स्वाभिमान
उम्रने डर छ पाखण्डको ज्ञानकुञ्जमा ।
छिमेकको आखाँ फुटाइ माग्ने वरदान
खोजिरहेछ कलम मसी छापाखानाहरुमा ।

(५)
गाम ठाममा पैह्राहरु छुत्ती खेल्नथाल्दा
काठमाडांै सगबगाउदै साउदी देख्ने
सहरबजारमा भैचालो उखरमाउलिँदा
मेरी आम्मैै रातभरी निद्रा चिलाउने
मुक्ति र चिनारी नामको महाजालोमा
आमाको छाती जोत्ने र जोताउने
धुलो, ग्याँस र पानीको अविजालोमा
मरिमेटाई नांगै हसुरी अँध्यारो डकार्ने
उँभोमात्र देख्ने अकासे आँखाले
औषधि मूलोमा सिटामोल नउम्रने
चुनिएका छानिएका ढाक्रे खेतालोहरु
भानुभक्तको बिर्के टोपीमा
कालो मसीभित्र राष्ट्रियताको
केरमेट र काइते अक्षरहरुमा
वाक्कलाग्दो सधैं देखिएको
थेत्तरो झेली गीत कथिरहेछन् ।

(६)
असत्तीपनको मस्तिष्कमा
उब्जिएको दर्शन ढुंगोलाई धुल्याउने
ज्ञानकुञ्ज छचल्किने लुटेरा
आलोक बोकेका चक्षुधारीहरु
दिनदहाडै आजभोलि लाजै नमानी
डरै नमानी किन हो ? केका लागि
जिउ छाडेर छापाखानामा नाचिरहेछन् ।

(७)
उज्यालो हुन नपाउँदै
राष्ट्रिय भावनाको बोलीमा
आफ्नो कर्मले पछ्याइएका भगौडाहरु
घरलाई बन्धकी राखेर तल रछ्यानमा
आफ्ननै छाँयामा तर्सिएका असत्तिहरु
आफूलाई लत्याएर अरुको भरमा
फुकेको बेलुनमा उडिरहेछन् ।

(८)
बिगतका कैयौँ भूँइचालाहरुमा
केही नभएको हाम्रो खलंगा दरबारहरु
हाम्रा पुर्खाले युद्ध लडेका
मकवान, दुगुना अमरगढीहरु
त्यो बेला केही भाँच्चिए पनि
हाम्रो विश्वासको धरहरा
केही त ठडिएकै थियो ।
यसपालाको त भुँईचालोले
सवै लडायो बाँकी केही रहेन ।
बिगतका भैचालाले
केही देखाएर केही लुकाएझंै
केही त बाँकी छाडेकै हो ।
यसपालाको भँुईचालोले त
केही छाड्दै छाडेन ।

(९)
गएसालको भुँईचालोपछि
वर्तमानको गोरखनाथले
खोई क्या हो, के मन्त्र गरे के ?
कलम मसीमा लतपतिने संचारलाई
औडाहा चलेको हो या यथार्थ
पहिला मार्ग र पथ उखरमाउलिन्थ्यो
वर्तमान जहीँकहीँ लेन्डुप गन्हाउदै छ ।

(१०)
छरिएको मानसिकताको मैदानमाथि
उनै भानुभक्तको बिर्के टोपीमा
भावनात्मक राष्ट्रियता छाद्नेहरु
स्वाधिनता र प्रशासनिक रखबारीहरु
भविष्य देख्ने गोरखनाथका सन्ततिहरु
सिंहदरवारको चौकामा पलेटी हालेर
हिमाल पहाड र मैदानको खडेरीमाथि
जनआवाज उङ्गने कालो टोपीहरुमा
लवेदा सुरुवालमा ईजार तुना खकुल्याउनेहरु
अन्तर्राष्ट्रिय भवनमा खोपीका देवताहरु
भुटिएकोे मस्तिष्क बयलिएर
ठ्वास्ठ्वास्ती कुहिएको सिनु
देशविदेश जहीँ छ्या आची झैं गन्हाएको छ ।

कुम्ब्रान, साउथ वेल्स,युके

प्रतिक्रिया

सम्बन्धित सामाग्री