लण्डन, ९ पुस । बेलायतकी प्रधानमन्त्री टेरेजा मेले क्रिसमसका अवसरमा शनिबार शुभकामना दिँदै बेलायतको यूरोपियन यूनियनसँगको सम्वन्धमा बेलायती बहुमत नागरिकको भावना अनुरूप जनमत सङ्ग्रहबाट आएको निर्णयलाई कार्यान्वयनमा लाने कुरामा लामो समयसम्म नराम्रो विभाजन देखिएपनि सन् २०१७ मा सवै देशबासीबीच एकता कायम गरी अघि बढ्ने वातावरण वन्ने विश्वास गर्नुभएको छ ।
सन्देशमा बेलायती प्रधानमन्त्री मेले भन्नुभएको छ, बेलायतको अहिलेको आवश्यकता भनेको देशबासी सबै नागरिकबीच एकता कायम गर्दै बेलायतको युरोपियन युनियनबाट हुन लागेको बहिर्गमन पछि विश्वमा बेलायतको नवीन सम्बन्ध विस्तारका लागि प्राप्त अबसरलाई परिणाममुखी बनाउनु भएको बताउदै यसमा सम्वद्ध सवैको सहयोगका लागि आग्रह गर्नुभएको छ ।
बेलायतमा गत जुनमा भएको जनमतमा ५२ प्रतिशत बेलायती जनताले इयुबाट बेलायतको बहिर्गमनको पक्षमा मतदान गरेपनि झण्डै आधा (४८ प्रतिशत) जनसङ्ख्याले इयुमा रहिराख्नुपर्ने पक्षमा मतदान गरेका थिए ।
प्रधानमन्त्री मेले आगामी मार्चको अन्त्यदेखि बहिर्गमन प्रक्रियालाई औपचारिक रुपमा शुरु गर्ने र करिब दुई बर्षमा यस विषयमा सम्पूर्ण काम पूरा गर्ने बताउनु भएको छ ।
क्रिसमसका लागि बेलायती जनता पारिवारिक जमघट गरिरहेका बेला मेले भन्नुभयो, चाडपर्व विशेषका अवसरमा हुने पारिबारिक जमघट एउटा महत्वपूर्ण अवसर भएको र यस पर्वले राष्ट्रिय एकताका लागि पनि भुमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।