झारखण्ड (भारत), १५ पुस । पूर्वी भारतीय राज्य झारखण्डमा अवस्थित एक कोइलाखानी बिहीबार राती भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको यहाको प्रहरीले शुक्रबार जनाएको छ । घटनामा १३ जना अन्य खानीभित्र फसेका र उनीहरूको अवस्थाबारे कुनै जानकारी पाउन नसकिएको प्रहरी अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।
झारखण्ड राज्यको गोद्डा जिल्लामा भएको उक्त घटनाको उद्धार कार्य जारी रहेको बताइएको छ । घटनापछि केहीलाई घाइते अवस्थामा उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कोइला मन्त्री पियुस गोयल, र झारखण्डका मुख्यमन्त्रीले घटनामा निधन भएका मजदूरप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका आफन्तजनप्रति सहानुभूति प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले शुक्रबार दिउसो टवीट् गर्दै भन्नुभएको छ, “झारखण्डमा कोइलाखानीमा भएको दुर्घटनाले मलाई स्तब्ध तुल्याएको छ । यस घडीमा खानीमा फसेका मजदुरको जीवनका लागि म भगवानसँग प्रार्थना गर्दछु ।”
भारत कोइला उत्पादनको लागि विश्वमा नै तेश्रो स्थानमा पर्ने राष्ट्रको रुपमा छ । आफ्नो देशमा आवश्यक रहेको कोइलाको ६० प्रतिशत भारतको उत्पादनले पुग्ने बताइन्छ ।