नेपाली चलचित्रभित्र मातृभाषी चलचित्रकाे अवस्था

नेपाली चलचित्र

नेपाली चलचित्र निर्माणको शुरुवात वि.सं. २००७ सालमा भारतको कलकत्ताबाट शुरु भयो । डि. वि. परियारले सत्य हरिश्चन्द्र निर्माण गरेको पन्ध्र वर्ष पछिमात्र २०२२ सालमा नेपालमा तत्कालिन सरकारले आमा चलचित्र निर्माण गरयो । स्मरणीय छ, राजा महेन्द्रले आफ्नो राजकीय धर्म र हाम्रो राजा हाम्रो देश, एउटै भाषा एउटै भेष सिद्धान्तलाई पृष्ठपोषण गर्न सो चलचित्र निर्माण गरेका थिए । सेलुलोइड प्रविधिको त्यो युगबाट आजसम्मको अवस्थामा आइपुग्दा धेरै परिवर्तन भइसकेको छ । हामी विविधतामा एकता र विकास अभ्यास गरिरहेका छौं वा अभ्यास गर्ने प्रयास गरिरहेका छौं वा भनुं यदि गरिरहेका छैनौं भने गर्नुपर्दछ । हाम्रो विकासको लागि त्यसको विकल्प छैन् ।

चलचित्रकला सबै कलाहरुमध्ये सबैभन्दा कान्छो कलाको विधा हो । हजारँैं वर्षदेखि चित्रकला, मूर्तिकला, संगीतकला, साहित्य आदि कलाको अभ्यास भइरहेपनि सन् १८९५ मा लुमियर ब्रदर्सले प्रदर्शन गरेको चल्ने चित्रको मितिदेखि आजसम्म सिनेमाको इतिहास १२२ वर्षमात्र भएको छ । चलचित्र सबै कलाहरुको संगम कला हो । लेखन, निर्देशन, अभिनय, संगीत, छायांकन, सम्पादन, आभूषण लगायतका विभिन्न सीपहरुको संयोजनकला चलचित्रकला हो भन्दा अन्यथा नहोला । चलचित्र निर्माण र प्रदर्शन आफैंमा अलिक जटिल प्रकृया पनि हो ।

चलचित्रकलामा सोंचलाई विज्ञानको सहायताले मात्र साकार पार्न सकिन्छ । त्यसो त सेलुलोइड प्रकृयाबाट अहिलेसम्म आईपुग्दा हातहातमा चलचित्र हेर्न मिल्ने प्रविधि विकास भइसकेको छ तर चलचित्रको निर्माण हलमा हेर्न नै निर्माण गरिएको हुन्छ । निर्देशकले कतिपय वस्तु र बिम्व फ्रेमको कुनाकुनामा अर्थपूर्ण तरिकाले राखेको हुन्छ । ध्वनीको रचना पनि त्यसरी नै गरिएको हुन्छ त्यसको पूर्ण आनन्द सिनेमा हलमा मात्र गर्न सकिन्छ ।

नेपाल वहुभाषिक, वहुधार्मिक, वहुसांस्कृतिक देश हो । विविधता राष्ट्रको सम्पत्ति हो । विविधता गर्व गर्ने चिज त छंदैछ तर विविधतालाई धेरै समाजशास्त्री र मानवशास्त्रीहरुले भने जस्तै जीवित विश्वविद्यालय र सांस्कृतिक राजधानीको रुपमा विकास गर्न सके यसले नेपालको चौतर्फी विकास गर्न सहयोग पुरयाउने छ । विविधतालाई रोजगारी प्रदान गर्ने, अर्थोपार्जन गर्ने माध्यमको रुपमा पनि किन विकास नगर्ने ?

नेपाल वहुभाषिक, वहुसांस्कृतिक मुलुक भएर पनि एक भाषा, धर्म र संस्कृतिलाई प्रश्रय दिइयो भने भाषाको मामिलामा बोल्न समेत प्रतिबन्ध लगाइयो । उद्यमी मगर जातिहरु खानी खन्न सिपालु थिए । उनीहरुलाई खानीबाट धातु चोरेर लान्छन् भन्दै मातृभाषा बोल्न प्रतिबन्ध लगाइयो । मुलवासी आदिवासीहरुलाई उल्टो जङ्गली, स्वांठे, तीघ्रे संज्ञा दिई असभ्य मानिसको रुपमा हेर्ने र साहित्य लेख्ने पनि गरियो । चलचित्रमा पनि एकल भाषा र सौन्दर्यलाई प्रश्रय दिने कार्य २०४४ मा निर्देशक प्रदिप रिमालले नेवारी भाषामा सिलु नबनाउन्जेल निरन्तर रह्यो ।

मातृभाषी आदिवासी जनजाति विषयवस्तुमा चलचित्र किन ?
विविधता नेपालको सम्पति हो । विविधताको सदुपयोग गर्नसके राष्ट्र सम्पन्न हुन्छ । विविधताभित्रको एकता उदाहरणीय हुन्छ । नेपाल एक जीवित विश्व विद्यालय भएकोले नेपालको विविधतालाई सम्पतिको स्रोतमा परिवर्तन गर्नसक्नु पर्दछ । नेपाली चलचित्र नेपाली भाषा, सँस्कृति, परम्परा, ज्ञान, सीप र संगीत आदिको उचित प्रदर्शनले गर्दा चललिचत्र प्रभावशाली बनाउन सक्ने प्रचुर सम्भावना छ । यसको प्रमाणस्वरुप एरिक भ्यालीले निर्माण गरेको डोल्पो भाषा र जनजीवनमा आधारित क्याराभान हो जसको अन्तर्राष्ट्रिय चर्चा भयो भने ओस्कार अवार्डमा विदेशी चलचित्र विधामा अन्तिम पांचसम्म पुग्नुले पनि यस्तो सम्भावना देखाउंछ । मातृभाषी चलचित्र वा आदिवासी जनजाति चलचित्र निर्माण गर्नुपर्ने केही अकाट्य कारणहरुमध्ये मातृभाषाहरु, जन्मदेखि मृत्युसम्मका असंख्य संस्कार, संस्कृतिहरु, आदिवासी सीप ज्ञान, सामूहिक जीवनशैली र व्यवस्थापन कला आदि हुन् ।

नेपाली चलचित्रको निर्माण र बजारको अवस्था
नेपाली चलचित्रको निर्माणले उद्योगको रुप लिन सकिरहेको अवस्था छैन् । बनेका चलचित्रको वितरण र प्रदर्शन पनि सफलतापूर्वक भइरहेको अवस्था छैन् । त्यसो त भर्खर मात्र व्यवसायको एउटा रेकर्ड स्थापित भएको छ । छक्का पन्जाले १८ करोडको व्यापार गरेको छापामा देखिएको छ । भनिन्छ करिब ५ लाख दर्शकले छक्कापञ्जा हेरे । मातृभाषाका चलचित्रको अवस्था भने अझ फरक छ । मातृभाषाका चलचित्रमा यथेष्ट लगानी हुन सकेको छैन् । राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डहरुमा भाग लिएर प्रतियोगिता जितेर चर्चा प्राप्त गरेको छ नि भनेर चित्त बुझाउने अवस्था पनि छैन् । भएका चलचित्रहरु वितरकले किन्ने अवस्था वा प्रचलन छैन् । र, प्रदर्शनको लागि हल पाइंदैन । आदिवासी चलचित्र निर्माणको २२ वर्षको अनुभव भए पनि केही चलचित्रहरु बाहेक अरुले ठूलो सफलता प्राप्त गर्न सकेका छैनन् । यसैकारणले मातृभाषी चलचित्रकर्मीहरु स्तरीय सृजना र बजारको नयां रणनीति प्रयोगमा प्रयासरत छन् । सायद उनीहरुलाई भविष्यमा सफलता पनि प्राप्त हुंदै जाला ।

सक्रिय डायस्पोरा
नेपाली कला र सृजनामा डायस्पोराको सक्रिय योगदान छ । रोजगारीको लागि विदेश जाने परम्परा पुरानो हो । रेमिट्यान्सले धानेको र चलाएको देश भनिन्छ नेपाललाई । कला सृजनामा पनि डायस्पोराको सक्रिय योगदान छ । विशेषगरी साहित्य लेखन, प्रकाशन, संगीत र चलचित्रमा बेलायतको नेपाली डायस्पोराको योगदान महत्वपूर्ण छ । चलचित्र निर्माता नेपालीहरुले सन् १९९० मा नै कस्तुरी चलचित्र निर्माण गरिसकेका छन् । मातृभाषी चलचित्रका निर्माता, सहनिर्माता, कलाकार, प्राविधिकहरु पनि राम्रै संख्यामा बेलायतमा रहेका छन् । साहित्य लेखन, प्रकाशनमा पनि नेपालीहरुको राम्रै सहभागिता छ भने संगीतमा पनि प्रभावशाली उपस्थिति छ । कला सृजनामा नेपालीहरुको अझ सक्रिय सहभागिता आशा गर्न सकिन्छ ।

निष्कर्ष
मानव सभ्यताको विकासका लागि आर्थिक, सामाजिक, राजनीतिक, 
सांस्कृतिक विकाससंगै कलाको विकास हुनु अत्यावश्यक छ । कलाको विभिन्न विधामध्ये चलचित्रकलाको पनि विशिष्ट स्थान भएकाले यसको उत्पादन तथा प्रवर्धन गर्न सके भाषा, संस्कृति, कलाको संरक्षण हुनाको साथै रोजगारी सृजना हुन सक्छ । नयां पुस्तामा ज्ञान, सीप पनि पुस्तान्तरण गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री