काठमाडौँ, ५ फागुन । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनको कुनै विकल्प नभएको निष्कर्ष निकाल्दै त्यसको सम्पूर्ण तयारी गर्न सरकारलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न र निर्वाचनको सम्पूर्ण वातावरण बनाउन सरकारसँग अनुरोध गरेको छ ।
संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन नै पहिलो सर्त भएको जनाउँदै बैठकले सकेसम्म सबै पक्षलाई मिलाएर अगाडि जान र त्यसो हुन नसके धेरैभन्दा धेरैको मतलाई सम्मान गर्दै निर्वाचनको मिति घोषणा गर्न पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई आग्रह गरेको छ ।
बैठकले संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे सरकारले गरेको गृहकार्य र तयारीलाई सकारात्मक भएको निष्कर्ष निकाल्दै निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले सरकारले अन्य दलसँग गरेको छलफल, राष्ट्रिय राजनीति र निर्वाचनको तयारीबारे बैठकलाई अवगत गराउनुभएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यालयका सदस्यले पार्टीको वस्तुगत अवस्थाबारे रिपोर्टिङ गर्नुभएको थियो ।
बैठकले यही फागुन १० गते व्यवस्थापिका–संसद्को बैठक हुने भएकाले प्रतिपक्षी दल र मधेसी मोर्चासँग समेत थप छलफल गरेर निर्वाचनको मिति घोषणा गर्ने निष्कर्ष निकालेको छ ।
पार्टी प्रवक्ता भुसालले भन्नुभयो, “अब स्थानीय तहको निर्वाचनको विकल्प छैन । राजनीतिलाई अग्रगमनमा लैजानका निम्ति स्थानीय तहको निर्वाचन गरेर संविधान कार्यान्वयनलाई गति दिनुपर्छ । जनसङ्ख्याको आधारलाई विचार गरी २ नं प्रदेशमा स्थानीय तहको सङ्ख्या केही बढाएर भए पनि मधेसी मोर्चालाई निर्वाचन ल्याउने र निर्वाचनको मिति घोषणा गर्नेबारे छलफल भयो । अब छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन्छ ।’’