युरोप भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र लक्जम्बर्गका प्रधानमन्त्री ज्याभियर बेटेलबीच बिहीबार उहाँको कार्यकक्षमा भेटवार्ता हुँदै । तस्बिर, सौजन्य ः एकराज पाठक, प्रेस संयोजक,परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, रासस
काठमाडौँ, ५ फागुन । हाल युरोप भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले लक्जम्बर्गका प्रधानमन्त्री ज्याभियर बेटेलसँग आज उहाँको कार्यकक्षमा भेटी लक्जम्बर्गले उपलब्ध गराउने अन्तर्राष्ट्रिय सहयोगको प्राथमिकता सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गर्नुभएको छ ।
मन्त्री डा महतले आगामी दिनमा पनि नेपाललाई विशेषगरी पूर्वाधार निर्माण, सीप विकास र पुनःनिर्माणका क्षेत्रमा थप सहयोगका लागि आग्रह गर्नुभयो सो आग्रहपछि प्रधानमन्त्री बेटेलले नयाँ दिल्लीमा रहेको लक्जम्बर्ग दूतावास र बेल्जियममा रहेको नेपाली दूतावासमार्फत सो प्रक्रिया अगाडि बढाउने र नेपाललाई पनि सहयोगको प्राथमिकताको सूचीमा राख्नेबारेमा पुनःविचार गर्ने आश्वासन दिनुभएको छ ।
प्रधानमन्त्री बेटेलले नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने र थप सहयोगका क्षेत्रको विस्तारमा पनि आफूहरु सकारात्मक रहेको जानकारी दिनुभयो ।
हालसम्म लक्जम्बर्गले नेपाललाई युरोपेली सङ्घ र विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थामार्फत विशेषगरी शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग पुरयाउँदै आएको छ ।
मन्त्री डा महत तथा लक्जम्बर्गका विदेशमन्त्री जिन असलबर्न र अन्तर्राष्ट्रिय विकासमन्त्री रोमेन सिडरसँग आजै भएको द्विपक्षीय भेटमा मन्त्री डा महतले नेपालमा लगानीको क्षेत्र विस्तारका साथै नेपालको बृहत्तर विकासमा सहयोगका लागि आग्रह गर्नुभएको थियो । मन्त्री डा महत आज नै बेल्जियमबाट लक्जम्बर्ग पुग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।