काठमाडौँ, ११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ केन्द्रीय कार्य समितिको पहिलो बैठक बिहिबार काठमाडौँमा बस्ने भएको छ ।
सो बैठकले महाधिवेशनको समीक्षा तथा मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीले निर्वाह गर्नुपर्ने विषयमा छलफल गर्ने छ । पार्टीमा मनोनित गर्ने ६५ केन्द्रीय सदस्य तथा पदाधिकारीको छनोटका लागि मापदण्ड बनाउन आवश्यक छलफल गर्ने छ ।
यसैगरी पार्टी अध्यक्ष थापाले धुम्रवाराहीस्थित पार्टी कार्यालयमा पुगेर आजै पदवहाली गर्नुभएको छ ।
राष्ट्रिय चरित्र बोकेका संस्थाको आवश्यकतामा जोड
पार्टीको यही फागुन ६ गतेदेखि काठमाडौँमा जारी एकता महाधिवेशनले पुनःपार्टीका अध्यक्ष कमल थापाको नेतृत्वमा ९८ केन्द्रीय सदस्यको निर्वाचित गर्दै आज सम्पन्न भयो ।
निर्धारित समयभन्दा दुई दिनसम्म लम्बिएको सो महाधिवेशनको समापन तथा नयाँ नेतृत्वको स्वागतका लागि आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दले अध्यक्ष कमल थापालाई तथा अध्यक्ष थापाले ९८ केन्द्रीय सदस्यलाई सपथ खुवाउनुभएको थियो ।
सो अवसरमा अध्यक्ष थापाले देशको राष्ट्रियतालाई संरक्षण गर्न संविधान र संवैधानिक व्यवस्थालाई अवलम्बन गरी संसद्को परिधी र संविधानअन्तर्गतको राजसंस्थाको खाँचो औँल्याउनुभयो ।
राप्रपाका नेता विश्वबन्धु थापाले विदेशी शक्तिको हस्तक्षेपले देशमा सामाजिक सद्भाव बिथोलिएको र विखण्डनका आवाज आएको अवस्थामा राष्ट्रिय चरित्र बोकेका संस्था मुलुकमा आवश्यक रहेको बताउनुभयो ।
राप्रपाका नेता एवम् पूर्वप्रधानमन्त्री चन्दले राष्ट्रवादी दुई पार्टीको एकीकरणपछि अब पार्टीको नयाँ अध्याय सुरु भएको बताउँदै पार्टीभित्र सबैको सही मूल्याङ्कन गर्न कुनै पनि कार्यकर्तालाई अन्याय हुन नदिन नेतृत्वलाई सुझाव दिनुभयो ।
पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले स्थानीय चुनाव सफल बनाउन मधेसको समस्या समाधान गर्नुपर्ने बताउँदै चुनावमा पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गर्न नेतृत्वले जनताको भावना बुझेर कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका पूर्वराष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले कार्यकर्ताको परिश्रमले सङ्गठित भएको आफ्नो पार्टीभित्रका समस्या समाधान गर्न प्रजातान्त्रिक संस्कारको खाँचो औँल्याउँदै मुलुकमा आउन सक्ने विखण्डन जोगाउन राष्ट्रियता र राजसंस्थासहितको प्रजातन्त्रको महत्व रहेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित दुई कलाकार रेखा थापा र कोमल वली। तस्बिर ः रोशन सापकोटा, रासस
पन्ध्र केन्द्रीय सदस्य मनोनीत
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम आज १५ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ ।
पार्टीका मुख्यसचिव विश्वेश्वर शर्मा सुवेदीका अनुसार मनोनीत हुनेमा दीपक बोहरा (रुपन्देही), नवराज सुवेदी (रामेछाप), हरिबहादुर बस्नेत (उदयपुर), टङ्कप्रसाद ढकाल (भोजपुर), रामकुमार सुब्बा (सुनसरी), दिलनाथ गिरी (सङ्खुवासभा) र नरेन्द्र चौधरी (सुनसरी) हुनुहुन्छ ।
त्यस्तै रामचन्द्र राय (सर्लाही), भीमप्रसाद गौचन (म्याग्दी), रामकृष्ण भट्टराई (मोरङ), उद्धव पौडेल (काठमाडौँ), चन्द्रबहादुर गुरुङ (कैलाली), राम थापा (झापा), नरेन्द्रबहादुर चन्द (बैतडी) र गीता बस्नेत (बर्दिया)लाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।