धरानको शिर भेडेटारस्थित थाउजेण्ड बिगबुद्व निर्माणाधिन समाचारले धरानको हिजो गुमेको खुशी आज ल्याउने भएछ भनि मेरो मनभित्र कौतुहलता झगझगायो। नेपालको इतिहासलाई एक चोटी पल्टाएर हेर्ने हो भने कुनै एक समय धरानले पुर्वाञ्चलको मुख्य प्रवेशद्वारको भुमिका निभाएको थियो भन्दा अहिलेको अवस्थामा सहज भन्दा असहजीकरणले स्थान पाउन सक्ला तर यथार्थ सत्य हो।
राज्यसत्ता परिवर्तनको निम्ति नेपालमा धेरै आँधीबेहरी (सुनामी) नै आयो र गयो पनि । तथाकथित किसान, मजदुर, शिक्षक, ब्यापारीका छोराछोरीहरुले प्राय गरेर सबै नै पालैपालो राज्यसत्ताको बागडोर सम्हाले । तर पनि कसैको छड्के नजर परेन धरानमाथि । नेपालमा बिकासको धिमा गतिले एक खोलाको दुई किनारामा एकपछि अर्को गर्दै छलाङ मारिरहेको हेरिरहयो धरानले । हुन पनि टुलुटुलु हेर्नुबाहेक अर्को विकल्प नै थिएन । प्राकृतिक सम्पदाहरूको खानीसहित पहाड र तराईको संगमस्थलमा अवस्थित धरानमा आफैँमा हरेक दृष्टिकोणबाट सम्पन्नता र सुगमता छ । पर्यटकको पहिलो गन्तव्यमा पर्ने धरान अहिले ओझेल पर्नु भनेको राज्यसंरचनाको एक हिस्सामा केही दाग लागेको देख्न सकिन्छ ।
एक समय थियो जुन समयमा धरानको ब्याख्या गर्नुभन्दा सम्झिनु सान्दर्भिक होला।
पूर्वाञ्चलवासीहरुको धरान घुम्ने रहर सबैको मनमा सजिएको हुन्थ्यो, जहाँ भिडभाड, रमझम, झिलीमिली, विभिन्न समानहरुले सजिएका पसलहरु, रोडको दुवैतिर लहरै कलात्मक बनावटले बनेका सुन्दर घरहरु, विभिन्न देश विदेशका मानिसहरुको चहलपहल । सबै आआफ्नै ब्यस्ततामा तल्लिन । सबै साधन र स्रोतहरूले सम्पन्न धरानवासी, सर्दु र शेवती खोलाबाट बहेको सिरसिरे चिसो हावा खान बिहानीको मोर्निङ वाक र बेलुकीको इभिनिङ वाकमा निस्केका नेपाली र गोरा गोरेनीहरु । अझ सुनमा सुगन्ध त ब्रिटिश घोपा क्याम्पले थपिदिएको थियो धरान नगरीलाई । आफ्नो सुनौलो भविष्य अज्माउन पहाड र तराईबाट आएका युवाहरुको कुम्भ मेला नै लाग्ने गर्दथ्यो धरान बजारमा । हुन पनि प्राय जसो सबैको धरानबाटै शुरु भयो होला जीवनको सुनौलो भविष्यको दिनकाहानी । कति सुनौलो भविष्य रच्न सफल भए होलान् त कति बिच मै विश्राम पनि लिए होलान्। सबैको यही धरानको मध्यबिन्दुबाट जीवन संघर्षको जिवनकाहानी शुरु भई आ आफ्नै कथा कवितामा परिणत भए होलान्। कुनै त्यो दिन थियो, सुन्दर नगरी धरानले घुम्न जाने जति सबैलाई विदेश (फरेन) को तिर्सना मेटाई दिएको थियो भने धरानको सौन्दर्यताले जो कोही मनमा अवश्य पनि कतै विदेशको एक टुक्राको रुपमा विकशित भएको जस्तो महशुस पक्कै गराएको थियो। अफसोच अहिले रस बेगरको फूललाई भमरा र माउरीले वेवास्ता गरे जसरी सबैबाट वेवास्ता भइरहेको छ धरान । संबन्धित निकायको तह र तप्कादेखि चाहे सामजिक सञ्जाल होस् या त मिडिया वा सञ्चार क्षेत्र सबैबाट ओझेलमा पारिएको छ धरान ।
हिजो जस्तै लाग्ने गर्छ हङकङ सिंगापुरदेखि बेलायत हुँदै विश्वको विभिन्न मुलुकमा धरानबारे चर्चा परिचर्चा भएको । अहिले यसो भन्दा दन्त्यकथा जस्तो बन्न पुग्यो। धरानको चौतर्फी विकासमा राज्यसत्ताको खिचातानी सँधै जसो तगारो बने पनि धरानवासी जनताहरु भूपू ब्रिटिश गोर्खा र स्थानीय ब्यावसायीहरुको सकृयताले धरान नेपालकै सुन्दर शहरको रुपमा स्थापित छ। धरानमा विभिन्न जातजाति, भाषाभाषीहरुको बसोबास छ भने सबैको आ आफ्नै विधि विधान, रीति रिवाज, संस्कार, संस्कृति, भेषभूषा, चाडपर्व छन् र मान्छन् पनि । चाहे जुनसुकै धर्म वा समुदायका किन नहून् । सबै आफ्नै मौलिकतामा रमाउँदै, नेपाली समाज भित्रको विविधता बिचको एकताले सजिएको धरान एउटा रंगीन फूलवारीको रूपमा मौलिँदै र हुर्किदै आएको छ भने यसलाई जोगाउँदै र मलजल गर्दै नयाँ युगमा प्रवेश गराउने प्रमुख दायित्व धरानवासीको काँधमा छ।
नेपालको छड्के र फड्के विकासले केही ठाउँमा फड्को मारेपनि विकास परियोजनाको नाकाबन्दीमा परेको धरान आफैँमा सँधै आफ्नै रफ्तारमा अघि बढिरहेको थियो। प्राकृतिक सौन्दर्यताले सजिएको धरानले धार्मिक स्थलसहित पूर्वाञ्चलको ऐतिहासिक अवशेष र भग्नावेशलाई आफ्नो पोल्टामा जोगाई राखेको सहजै देख्न सक्छौँ। अन्य ठाउँले विकासको नयाँ काँचुली फेर्दा सिंगो इतिहासलाई जोगाई राख्ने धरानले भने काँचुली नफेर्नुमा विगतमा राज्यसत्ताले धरानमाथि गरिएको सौंताने प्रबृत्तिलाई सजिलै नियाल्न कुनै कठिनाइ पर्दैन।
समग्र धरानको विकासमा गतिरोध उत्पन्न गर्न केन्द्रीय राज्यसत्ता र राजनीतिक पार्टीको एक आपसको खिचातानी नै विकासको निम्ति तगारो बनिदियो। गतिरोधको अन्त्य र निकासको निमित्त नेता र राजनीतिक पार्टी प्रतिको लगामलाई कम गरी विकासमा समर्पित भएमा निश्चित पनि निकास पाउनेछ। सम्बन्धित निकायको आशा र भरोसामा नबसी जनता नै सकृय भएमा विकासले फड्को मार्नेमा कुनै साइत र बार कुर्नुपर्ने छैन्। पूर्वाञ्चलको मुख्य द्धार धरान हुँदै हजारौं लाखौं नेपाली अहिले संसारको विभिन्न मुलुकमा प्रवासी जीवन बिताइरहेका छन्। तर अलिकति पनि धरानको विषयमा सोच्ने फुर्सद नै उपलब्ध हुन किन सक्दैन सबैलाई त्यो त समयसापेक्ष सोच र विचारमा निहीत हुने विषय परे होलान् ।
नेपालको चौतर्फी विकासमा टेवा पुरयाउन पूर्वाञ्चलको गहनाको रुपमा रहेको हिजोको जल्दोबल्दो धरानलाई आज पूर्वाञ्चलवासीले बिऊझाउन सके विकासको गतिले फड्को मार्नेमा दुईमत छैन् । कयौं वर्षदेखि विकासको पर्खाइमा बसेको धरानलाई प्रवासको बसाई भए पनि सँधै नै धरानको विकास र धरानवासीको उन्नति र प्रगतिको निम्ति समर्पित रहने हङकङ नेपाली समाजमा सामजिक अभियन्ताको रुपमा परिचित समाजसेवी तथा हङकङ नेपाली महासंघको निवर्तमान अध्यक्ष प्रदीप थापाको महान सोच र परिकल्पनाको आधारमा निर्माण हुन लागेको ‘थाउजेन्ड बिगबुद्धले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै धरानलाई एक नमुना धरानको रुपमा चिनाउनेमा निश्चित छ । यसमा सबै पूर्वाञ्चलवासीहरुको एकमतले होस्टेमा हैँसे हुन जरुरी छ ।
शुभम्