राजविराज (सप्तरी), २३ फागुन । नेकपा (एमाले)को मेची–महाकाली जागरण अभियानअन्र्तगत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको जनसभा बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी मलेठ–२ का २३ वर्षीय सञ्जन मेहता, जोलहरी मलेठ–४ का ५० वर्षीय पीताम्बरलाल मण्डल र प्रस्वनी गाविस घर भई राजविराज–९ मा बस्दै आएका ३४ वर्षीय आनन्द साह रहेका छन् । मेहताको घटनास्थलमै तथा मण्डल र साहको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलका अनुसार प्रहरीको गोली लागेर घाइते भएका अन्य सात जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको पेटमा गोली लागेको बताइएको छ । प्रहरीको गोली लागेर दीगम्बर यादव, दिलीप यादव, सुरेन्द्र मण्डल, प्रमोद मण्डल, जितेन्द्र साह, इन्द्र नारायण साह र वीरेन्द्र महतो गम्भीर घाइते भएका छन् ।
त्यस्तै प्रहरीको लाठी प्रहारबाट दुई दर्जन कार्यकर्ता घाइते भएको मोर्चाले जनाएको छ । उनीहरुको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अहिले राजविराजको अवस्था तनावपूर्ण रहेको छ ।
औद्योगिक क्षेत्रमा गरिएको आमसभा बिथोल्न ठूलो सङ्ख्यामा मोर्चा कार्यकर्ता पुगेपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको प्रशासनले जनाएको छ । मोर्चाका कार्यकर्तालाई रोक्न प्रहरीले ठूलो सङ्ख्यामा हवाई फायर गरेको थियो । साथै सयौँ राउण्ड अश्रुग्यास पनि प्रहार गरेको थियो ।
मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिन र सभास्थलको सुरक्षाका लागि प्रहरीले गोली चलाउनु परेको सप्तरीका प्रजिअ उद्धव तिमल्सिनाले बताउनुभयो ।
यता मोर्चाले भने प्रहरीको हुलमा मिसिएका एमाले कार्यकर्ताले नै प्रहरीमाथि ढुङ्गामुढा गरेको आरोप लगाएको छ । औद्योगिक क्षेत्रमा एमालेको सभा सुरु नहुदै पुगेका मोर्चाका कार्यकर्ता एमाले अध्यक्ष केपी शर्मा ओलीले भाषण गर्न थालेपछि थप उत्तेजित भएका थिए । त्यसअघि नेता माधवकुमार नेपाल, लालबाबु यादव, सत्यनारायण मण्डललगायतले सम्बोधन गरेका थिए । स्थिति तनावग्रस्त भएपछि प्रहरीले कडा सुरक्षाबीच ओलीसहितका शीर्ष नेतालाई सुरक्षित स्थानतर्फ लगेको थियो ।
यसअघि एमालेका कार्यकर्ताको सभास्थल अगाडि सडकमा राखिएको एमालेको झण्डासहितको मोटरसाइकललाई आगजानी गरेका थिए । त्यस्तै मोर्चाका कार्यकर्ताले एमाले कार्यकर्ता चढेका गाडीमाथि समेत तोडफोड गरेका थिए ।
यसैबीच, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले सप्तरी घटनाको विरोधमा आज साँझ सिरहाको गोलबजारमा विआर ५१ ए ४०१३ नं को भारतीय ट्रकमा आगजनी गर्नुका साथै दर्जनभन्दा बढी सवारी साधनहरुमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
सो क्रममा आधा दर्जन भन्दा बढी यात्रुसमेत घाइते भएको र घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको इप्रका गोलबजारले जनाएको छ । अहिले मोर्चाका नेता कार्यकर्ताले टायर बालेर सडक अवरुद्ध पार्दै प्रदर्शन गरिरहेका छन् । यस्तै मोर्चाका कार्यकर्ताहरुले लहान र मिर्चैयामा पनि प्रर्दशन गरेका छन् ।
त्यस्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरी घटनाको विरोधमा दुई दिन धनुषा बन्दको घोषणा गरेका छन् । आज जनकपुरमा बसेको मोर्चाको आकस्मिक बैठकले मङ्गलबार र बुधबार धनुषा बन्दको घोषणा गरेको मधेसी मोर्चा धनुषाका अध्यक्ष सतिशचन्द्र लाल दासले बताउनुभयो ।
यसैगरी सप्तरी घटनाको विरोधमा मोर्चाका कार्यकर्ताले पर्साका विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । मोर्चाका नेता कार्यकर्ताले वीरगन्जको घण्टाघर चोक, मुर्ली चोक, पावरहाउस चोक, नगवा, छपकैया चोक, इनर्वा चोकलगायत स्थानमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । सुरेश झा र अरुण यादव/रासस
काठमाडौँ, २३ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज दिउँसो सप्तरीमा भएको घटनाप्रति भत्र्सना गरेको छ ।
आज बेलुका सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बसेको आकस्मिक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सप्तरीमा जनताले गरिरहेको शान्तिपूर्ण विरोध कार्यक्रमको सिलसिलामा प्रहरीले दमनकारी कार्य गरी सञ्जन मेहता, दीगम्बर यादव, पीताम्बर लाल मण्डल र आनन्द साहलाई गोली हानेर हत्या गर्नुका साथै दर्जनौंलाई घाइते बनाएको घटनाप्रति मोर्चाले घोर निन्दा एवम् भत्र्सना गर्दछ मोर्चाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ– “ यस्तो घटनाले मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको समेत उल्लङ्घन गर्ने कार्य भएको छ, राज्य पक्षबाट हुने यस्तो गैर लोकतान्त्रिक एवम् अमानवीय हिंसात्मक कार्यको मधेसी मोर्चा घोर निन्दा एवम् भत्र्सना गर्दछ ।”
त्यसैगरी मोर्चाले घाइते भएकाको तत्काल स्वास्थ्योपचारका साथै हत्यामा दोषी रहेकालाई तुरुन्त कारबाही गर्नुपर्ने मागसमेत गरेको छ ।
बैठकले नेकपा एमालेका केही शीर्ष नेताले मधेस र मधेसीविरुद्ध गैर जिम्मेवार, भड्काउपूर्ण एवम् उत्तेजक अभिव्यक्ति नै यस घटनाको मुख्य कारक तत्व रहेको ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।
“मधेसमा भइरहेको हिंसा, हत्याको विरोधमा यही फागुन २४ र २५ गते दुई दिन मधेस बन्द गर्ने निर्णय गरेको”– विज्ञप्तिमा भनिएको छ ।
काठमाडौँ, २३ फागुन । गृह मन्त्रालयले सप्तरीको घटनामा मधेसी मोर्चाका तीन जना कार्यकर्ताको मृत्यु भएको जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले नेकपा (एमाले)ले आयोजना गरेको जनसभा बिथोल्न मधेसी मोर्चाका कार्यकर्ताले पूर्व घोषणा गरेको कार्यक्रमका कारण आजको दुःखद घटना हुन पुगेको बताउनुभयो ।
उहाँले उक्त घटनामा मोर्चातर्फ एक जना गम्भीर घाइते र सात जना घाइते भएकोे विवरण प्राप्त भएको उल्लेख गर्दै सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका दुई जना र सशस्त्र प्रहरी बलका १३ जना घाइते भएका जानकारी दिनुभयो ।
प्रवक्ता पन्थीले भन्नुभयो, “मोर्चा र एमालेका बीचमा पर्खालका रुपमा सुरक्षा निकायले भूमिका निर्वाह गरिरहेको थियो, मोर्चाका कार्यकर्ताबाट सुरक्षाकर्मीमाथि ढुङ्गा मुढा, भाला र पेट्रोल बम प्रहारसहितको आक्रमण गरयो, प्रहरीले आत्मरक्षाका लागि अश्रु ग्यास, हवाई फायर र रबरका गोली प्रयोग गर्दा पनि भीड नियन्त्रणमा नआएपछि ठूलो क्षति हुनबाट जोगिनका लागि बाध्य भएर गोली चलाउनु परेको हो ।”