काठमाडौँ, २७ फागुन । कञ्चनपुरको पुनर्वासमा बिहीबार भएको गोलीकाण्डको विरोधमा ३० जना लेखक, पत्रकार तथा नागरिक समाजका अगुवाले विरोध जनाएका छन् ।
उहाँहरुले आज एक विज्ञप्तिमार्फत भारतीय सीमा सुरक्षाबल (एसएसबी) को फौज अनाधिकृत र जबर्जस्ती नेपाल भित्र प्रवेश गरी कञ्चनपुर, पुनर्वासमा अन्धाधुन्द गोली चलाएको, नेपालीको घर तथा पसल लुटेको र गोविन्द गौतमको हत्या गरेको भन्दै विरोध जनाएका हुन् ।
भारतीयको आक्रमणबाट श्याम गुरुङलगायत नेपाली नागरिकका घर, पसल लुटिएको, स्थानीय सुरेश थापा र प्रहरी निरीक्षक राम खत्रीलगायत गम्भीर घाइते भएको उल्लेख गर्दै लेखक तथा पत्रकारले अन्तर्राष्ट्रिय कानुन विपरीत नेपाली भूमिमा प्रवेश गरी नेपाली नागरिकमाथि गरेका अत्याचार सहन गर्ने विषय नभएको उल्लेख गरेका छन् ।
मृतकका विषयमा नेपाल सरकारले तत्कालै भारत सरकारसमक्ष प्रष्ट शब्दमा कडा विरोध जनाउनुपर्ने, गौतमका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको राम्रो उपचार तथा लुटिएका र तोडफोड गरिएका धनसम्पत्ति फिर्ता र क्षतिपूर्ति गराउन भारत सरकारसँग तुरुन्तै संवाद अघि बढाओस् भन्ने आग्रहसमेत गरिएको छ ।
यसरी विरोध गर्नेमा आनन्दराम पौडेल, रतन भण्डारी, भरत दाहाल ध्रुवहरि अधिकारी, शारदा भुसाल झा, रतन चन्द, जनकमान डङ्गोल, पुण्य गौतम विश्वास, कमल कोइराला, डा विनोद न्यौपाने, कृष्णराज कोइराला क्रिश, अग्निपुञ्ज हरिचन्द, बाबुसिंह थापा, साध्यबहादुर भण्डारी, रत्नसंसार श्रेष्ठ, डा विष्णुराज उप्रेती, डा भुवप्रसाद त्रिपाठी, इन्द्रप्रसाद न्यौपाने, हीरण्यलाल श्रेष्ठ, यज्ञप्रसाद थपलिया, केशवप्रसाद भट्टराई, डा नीलमकुमार शर्मा, पवन ओझा, डा प्रदीप ढकाल, रामप्रसाद श्रेष्ठ, डा सुरेन्द्र केसी, डा सूर्यराज आचार्य, विमल गौतम र ठाकुर बेल्वासे हुनुहुन्छ ।
कञ्चनपुर घटनाबारे कूटनीतिक छलफल हुँदै
काठमाडौँ, २७ फागुन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कञ्चनपुर घटना दुःखद् भएकाले यसबारे सत्यतथ्य बुभ्mन भारत सरकारसँग कूटनीतिक छलफल भइरहेको बताउनुभएको छ ।
राष्ट्रिय अनलाइन पत्रकार सङ्घको प्रथम वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित ‘पर्यटन र आर्थिक क्षेत्रमा अनलाइन मिडियाको भूमिका’ विषयको अन्तक्र्रियामा परराष्ट्रमन्त्री डा महतले मृतकको परिवारलाई रु १० लाख क्षतिपूर्ति दिने र छोराछोरीलाई निःशुल्क शिक्षा दिनेबारे सरकाले गृहकार्य गरिसकेको बताउँदै घटनाको वास्तविकता चाँडै पत्ता लाग्ने विश्वास व्यक्त गर्नुभयो । अर्काे प्रसङ्गमा उहाँले देश विकासका लागि सकारात्मक भूमिका खेल्न र सत्यतथ्य सूचना पस्कन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
सांसद मोहनसिंह राठौरले देश विकासको प्रमुख मेरुदण्ड पर्यटन, ऊर्जा र कृषिबारे सञ्चारकर्मीले खोजमूलक समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ, पोखरा र चितवनलाई मात्र पर्यटनको क्षेत्रका रुपमा नहेरेर सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा रहेका रारा, शुक्लाफाँट, खप्तडलाई समेत सञ्चार क्षेत्रले समेट्नुपर्छ ।”
नयाँ शक्ति पार्टीका नेता देवेन्द्र पौडेल, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा कृष्णहरि बाँस्कोटा, जया मल्टिपल कलेजका प्राचार्य भवानीप्रसाद पौडेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, सङ्घका अध्यक्ष मुकुन्दकुमार ढुङ्गाना, ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन, मिसन फर चेन्जका अध्यक्ष दर्शन रौनियारलगायतले संविधान निर्माणसँगै देशलाई आर्थिक समृद्धिको बाटामा लैजान विकास पत्रकारिताको खाँचो औँल्याउनुभयो ।
सो अवसरमा सङ्घले ‘राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार’बाट राष्ट्रिय समाचार समितिका समाचारदाता अच्युत रेग्मीलाई पुरस्कृत गरेको छ । सङ्घले रेग्मीलाई नेपालको पत्रकारिता क्षेत्रमा विशेष योगदान पुरयाएको जनाउँदै रु ११ हजार १११ र सम्मानपत्रद्वारा सम्मान गरेको हो ।