लन्डन । नेपाल र बेलायतबीच दौत्य सम्बन्ध संस्थापनाको द्विशतवार्षिकी पूरा भएको उपलक्ष्यमा बेलायतस्थित नेपाली दूतावासले शुक्रबार लण्डनमा साहित्यिक महोत्सव र साझा प्रकाशनबाट उत्पादित विभिन्न पुस्तक प्रदर्शनी आयोजना गरेको छ ।
तीन दिनसम्म चल्ने प्रदर्शनीमा विभिन्न तीन हजार पुस्तक समावेश गरिएका छन् । प्रदर्शनीका अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नेपाल र नेपालीका सिर्जना चिनाउन यस्ता प्रदर्शनीले महत्व राख्ने भन्दै मुलुक निर्माणमा देश र विदेशमा रहेका सबै नेपालीको योगदान हुनुपर्ने बताए । मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का नेता जितेन्द्रदेवले नेपाली साहित्यलाई विश्वस्तरमा लैजान सरकारी निकायबाट भएका प्रयासको प्रशंसा गर्दै यस्ता कार्यले नेपाल र बेलायतबीचको दैत्य सम्बन्ध थप विस्तार हुने विचार व्यक्त गरे ।
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले सो दूतावासले आफ्नो संस्थालाई स्थान दिएर साहित्यिक कार्यक्रम आयोजना गरेकामा आभार व्यक्त गरे । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले साझा प्रकाशन र नेपालका साहियित्क कृतिलाई युरोपका अन्य मुलुकमा पनि लैजान आफूले पहल गर्ने बताए ।
नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ
कार्यक्रमा राजदूतको सम्पादनमा प्रकाशित ‘बेलायतमा नेपाली कवि र कविता’ पुस्तकको विमोचन पनि गरिएको थियो ।
उक्त अवसरमा बेलायतका करिब ४ दर्जन बढिले कविता वाचन गरेका थिए भने डा. माइकल हट र बासु शर्माले नेपाली साहित्य सम्वन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । मध्यरातसम्म चलेको उक्त कार्यक्रममा नाटक जीगिसा समेत प्रदर्शन गरिएको थियो ।
तस्विरः बीरेन्द्र श्रेष्ठ