लन्डन । नेपाली साहित्यमा वरिष्ठ निबन्धकार शंकर लामिछानेका निबन्धहरु अक्सर पढिरहुं लाग्छ । प्रत्येक पटकको पढाइमा नयां सोचविचार र बुझाइहरु उत्पन्न हुन्छ । अहिले युवा निबन्धकार अनन्त गुरुङको ‘अ योङ डेसिडेन्ट’ अंग्रेजी निबन्धसंग्रह पढेर शंकर लामिछानेका निबन्धहरूको सम्झना गरायो । शंकरले जसरी पात्रहरुसंग आफूलाई सवाल जवाफ गरिरहेको भेटिन्छ । अनन्तको निबन्ध लेखनमा पनि लेखक स्वयं पात्रहरूको केन्द्रमा रहेर पात्रको चरित्र चित्रण गरिएको हुन्छ । यहां निबन्धलाई दांज्न खोजिएको भने होइन । तर एउटै विधाको लेख रचनाहरु हेर्दै जांदा को, कहां कसरी प्रस्तुत भएको छ । र यसको प्रभाव के छ छैन भन्ने बारेमा पाठकलाई अनुभूति हुंदो रहेछ ।
कृतिको अध्ययन गर्दा लेखकको लेखकीय पाटोहरूको बारेमा राम्ररी जानकारी भएमा लेखर रचनाहरूको न्यायसंगत तरिकाले विश्लेषण गर्न सहज हुन्छ । तर ‘अ योङ डेसिडेन्ट’ कृतिका लेखक अनन्त गुरुङको बारेमा अनविज्ञ हुंदाहुंदै पनि केही लेख्ने हुटहुटी भइरहयो ।
‘अ योङ डेसिडेन्ट’ निबन्ध कृति केही समयअघि हङकङमा विमोचन कार्यक्रमको चर्चा हुंदैगर्दा पुस्तकले मलाई आकर्षित बनाएको हो । कृति प्रकाशक समिक्षक समाज, हङकङका गीतकार रबिन बान्तवा खाहोंग राईको सदासयताले ‘अ योङ डेसिडेन्ट’ मात्र होइन, अरू धेरै कृतिहरू प्राप्त भएको छ । धेरैको माझमा पहिला यही पुस्तक पढ्ने बढि चाहना भयो, किन ? घरिघरि आफैंमा प्रश्नहरू तरंगित हुन्छन् । आफूलाई सोच्दछु, पुस्तकको आवरण र विषयवस्तुले नै मलाई बढि तानेको हुनुपर्दछ । म एकपटक जीवनको पूर्वाधतिर फर्कन चाहन्छु । जुन कुरा अनन्तको निबन्धमा भेटिन्छन् भन्ने लाग्यो ।
कृतिको सुरूवातमा नै लेखकले पुस्तकबाट केही पनि सल्लाह र सुझावहरू नलिन आव्हान् गरेका रहेछन् । तर पुस्तक पल्टाउदै जादां प्रत्येक पानाहरूमा नयांनयां विषय, प्रसंग र विश्लेषणहरू पाइन्छ । जो जान्ने बुज्नेहरूको लागि ज्ञानको ‘भण्डार’ पनि हो । विशेषगरी नेपालको सन्दर्भमा विद्यालयमा वालवालिकाहरूले शिक्षा हांसिल गर्ने क्रममा भोग्नु पर्ने समस्याहरू, विद्यार्थी, शिक्षक र अभिभावकहरूबीचको अन्तरसम्बन्धहरूको बारेमा प्रस्तुत कृतिमा लेखकले विभिन्न कोणबाट विश्लेषण गरेका छन् ।
आफ्नो वालवच्चाले विद्यालयमा राम्रो शिक्षा हासिल गरोस् भन्ने सबै अभिभावकहरूको चाहाना हुन्छ । तर वालवालिकाहरूको शारीरिक र मानसिक विकाससंगै सिक्ने कार्यहरू आफ्ना अभिभावकको चाहना अनुसार सबैले पुरा गर्न सक्दैन । अभिभावकको आन्तरिक दबाब वालवालिकाले सहनु पर्दछ । घरमा अभिभावकको दया, मायां र गाली सहनु त छंदैछ, विद्यालयमा गृहकार्य पुरा नगरेमा वा आज्ञा पालना गरिएन भने शिक्षकको हातको कुटाई समेत खानु पर्दछ । विद्यालय शिक्षा हांसिल गर्ने मन्दिर हो । तर कति विद्यार्थीको लागि जेलघर जस्तो पनि भएको छ । निबन्ध पढिरहंदा मलाई वाल्यकालको सम्झना आयो । जतिबेला, म दुई तीन कक्षामा पढ्दा गालामा सिगान र हात मैला हुनेहरूलाई सरले धारामा लगेर डस्टरले पिट्दै धुन लगाउनु हुन्थ्यो । अभिभावक र शिक्षकको दोहोरो मार विद्यार्थीहरूमा परेको घटनाहरु निबन्धको मुख्य पाटोको रूपमा चित्रण गरिएको छ ।
लेखकले विषयवस्तुहरू समस्याको लागि मात्र होइन, समाधानको बाटो पनि सुझाएको छ । नेपाली समाजमा वालवालिकाहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक छ भन्ने निबन्धले सन्देश दिन्छ । यता बेलायतमा बसेर नेपालमा विद्यार्थीहरूले भोगेका अप्ठ्याराहरू सोच्दा पढ्दा आङ सिरिङ्ग हुन्छ । बेलायतको सन्दर्भमा अभिभावक र शिक्षक दुवैलाई विद्यार्थी कुट्ने अधिकार हुंदैन । यदि विद्यार्थीले विद्यालयमा नराम्रो आचरण प्रस्तुत गरेमा शिक्षकले अभिभावकलाई पत्रद्वारा (अत्यावश्यक भएमा फोनबाट पनि) अवगत गराउंछ । यसो गर्दा सुधार नआएमा अभिभावकलाई विद्यालयमा बोलाएर अभिभावक, विद्यार्थी र शिक्षकसंगै बसेर समस्या समाधानको उपायहरु खोजिन्छ । यस्तो कार्यबाट पनि सुधार भएन भने त्यसपछि अस्थायी र स्थायी निलम्बनका कार्यहरू अगाडि बढाइन्छ । तर विद्यार्थीलाई गाली दिने र पिट्ने कार्यको कल्पनासम्म गर्न सकिदैन ।
अनन्तले निबन्धमा आफ्ना विचारलाई परिपक्व बनाउने प्रयास मात्र गरेका छैनन्, शिक्षक, विद्यार्थी र सिङ्गो समाज विकासका लागि विश्व परिचित ब्यक्तिहरू डेभिड बेकहयाम, मुहम्मद अली, मोदर टेरेसा, बाराक ओबामा र अल्बर्ट आइन्स्टाइन जस्ता महान ब्यक्तिहरूको प्रसंग उठाएको पाइन्छ । कोही कसैको सार्वजनिक जीवनको बारेमा उल्लेख गर्दा सम्बन्धित ब्यक्तिबारे धेरथोर जानकारी हुनु आवश्यक छ । यति धेरै ज्ञान हासिल गरेर पुस्तक लेख्नु सबैले सक्दैन्, जो अनन्तले सक्यो । लेखकको प्रशंसा गर्नै पर्दछ ।
‘अ योङ डेसिडेन्ट’ पुस्तक पल्टाउनु अघिसम्म युवा लेखकले आफूलाई बलियो र सक्षम भएको र अन्य पात्रहरूको कमीकमजोरीहरू औंल्याएका होलान् भन्ने लागेको थियो । तर वास्तबिकता त्यस्तो रहेनछ । निबन्धमा लेखक मुल पात्रको रूपमा प्रस्तुत भएर आफू परिक्षामा राम्रो अंक ल्याउन नसकेको, शिक्षक र अभिभावकलाई खुशी पार्न नसकेको लगायत अन्य कमीकमजोरीहरु उल्लेख गरेका छन् । अझ पुस्तकको कारण कसैलाई गल्ती भयो कि भनेर पटक पटक माफी चाहेको कुरा पढ्न पाइन्छ । यस कुराले लेखक मिहेनती, इमान्दारी र महान सोचाई भएको रहेछ भन्ने कुरा पुष्टि हुन्छ । यसले गर्दा पुस्तक पल्टाउनु अघि र पछिको मेरो सोच जमिन र आकास जतिकै फरक भयो । ब्रिटिश उपन्यासकार चाल्र्स डिकेन्स गरिबी र अभावले विद्यालय जाने समयमा वालश्रम गरेर जिविका चलाउनु परयो । कामको सिलसिलामा विभिन्न ठाउंहरूको बसाई सराइको क्रममा उनले साहित्य लेख्न थालेका थिए । परन्तु उनले लोकप्रिय उपन्यासहरू मात्र लेखेन, जीवनको उत्तरार्धमा प्राज्ञ भएर साहित्यको पाठ पढाउदै हिंड्नु परयो । ‘अ योङ डेसिडेन्ट’ पुस्तकका युवा लेखक अनन्त एक अध्ययन, चिन्तन र विवेकशील हुन्, लेखकको भविष्य उज्जल छ ।
‘अ योङ डेसिडेन्ट’ निवन्ध संग्रह समिक्षक समाज, हङकङद्वारा प्रकाशित गरिएको हो ।