काठमाडौँ, १३ चैत । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।
बैठकले केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी समितिसमेत गठन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकले काँग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २९ तथा काँग्रेसको नियमावली २०६८ को नियम १४ बमोजिम काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा गठित समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित पार्टीको वरिष्ठताका आधारमा थप २५ केन्द्रीय सदस्य गरी जम्मा २९ सदस्यीय समिति गठन गरिएको छ ।
बैठकले पार्टीका ४२ वटा केन्द्रीय विभाग कायम गर्ने र आवश्यकताअनुसार विभागको सङ्ख्या थप गर्न सकिने निर्णय गरेको मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।
सभापति देउवाको अध्यक्षतामा बसेको बैठकमा प्रस्तुत प्रस्ताव र मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा आज केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, खुमबहादुर खड्का, डा रामशरण महत, अर्जुननरसिंह केसी, नरहरि आचार्य, रमेश रिजाल, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दीलेन्द्रप्रसाद बडू, एनपी साउद, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्बे, डा शेखर कोइराला, चन्द्र भण्डारी, अजयकुमार चौरसिया, महेन्द्र यादव, मीन विश्वकर्मा, जीवन परियार, सीता गुरुङ, श्यामकुमार घिमिरे, गुरूराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र बहादुर सिंह (लामा) तामाङले आफ्नो धारणा राख्नुभएको थियो ।
केन्द्रीय कार्यसमितिको बैठक भोलि चैत १४ गते बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।