मस्को (रसिया), १५ चैत । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका इरानी समकक्षी हसन रौहानीबीच मङ्गलबार मस्कोमा रसिया – इरान सम्बन्ध तथा सिरियाली द्वन्द्वका विषयमा कुराकानी भएको छ ।
सिरिया द्वन्द्वमा सिरियाली सत्ताधारी गठबन्धनलाई सघाउँदै आएका दुई देशका नेताले सिरियामा जारी छ वर्ष लामो युद्धलाई अन्त्य गर्न आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने कुरामा कुराकानी गरेको रसियाली टेलिभिजनद्वारा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
बैठकको सुरुमा पुटिन र रौहानीबीच सिरिया द्वन्द्व अन्त्य गर्ने विषयमा व्यवहारिक एवम् प्रभावकारी रुपमा सबै तहमा पहल गर्ने दुवै नेताले जनाएका थिए ।
रौहानी मस्को भ्रमणका लागि इरानबाट रसिया जानुपूर्व इरानी विदेश मन्त्रालयका प्रवक्ता बहराम घासेमीले दुई नेताले क्षेत्रीय मुद्दाहरु खासगरी सिरिया सङ्कट समाधान र सिरिया द्वन्द्वलाई छिट्टै अन्त्य गर्न दुई देशले चाल्नुपर्ने कदमबारे छलफल हुने बताउनुभएको थियो ।
दुई नेताबीच रसिया – इरानलगायत यस क्षेत्रमा देखिएको आतङ्कवाद र अतिवादका विरुद्ध सहकार्य गर्दै अघि बढ्ने विषयमा रसियाली राष्ट्रपतिलगायत उच्च अधिकारीसँग छलफल हुने प्रवक्ता घासेमीले बताउनुभयो ।
रौहानीको कार्यकालमा रसियासँगको सम्बन्धमा सुधार देखिए पनि दुई देशबीचको भूगोल, तेल र रसियाली कम्युनिस्ट विचारधाका कारण भने विगतमा विवाद देखिँदै आएको छ ।