लन्डन । यतिखेर नेपालमा अटिजम सप्ताह मनाइंदै गर्दा एकजना विदेशी त्यही रोगबाट प्रभावित वालवालिकाको सहयोगमा जुटेका छन् । अटिजम पीडित वालवालिका र अटिजम केयर नेपालकालागि ‘नेशनल सेन्टर फर अटिजम’ स्थापनाका लागि आर्थिक सहयोग जुटाउन चार महिना लामो हिमाली पदयात्रामा निस्केका हुन् एलेक्स कोन्टी । बालबालिकाका लागि एक लाख पाउण्ड जुटाउने महत्वकांक्षी योजनामा उनी सामेल छन् ।
एलेक्स पेशाले फिजिओथेरापिस्ट हुन् । फ्रान्सेली नागरिक एलेक्स विगत १५ वर्षयता बेलायतमा कार्यरत छन् । नेपाल जानु अघि उनले भाडामा लिएको लन्डनस्थित आफ्नो अपार्टमेन्ट मात्र छाडेनन्, जागिर, घर परिवार र साथीभाइ समेत छाडेर ‘ग्रेट हिमालय ट्रेल’ भनिने उच्च हिमाली क्षेत्रको १७०० किमी लामो साहसिक पदयात्रामा निस्किए उनी ।
नेपाल देश अति सुन्दर रहेको उनले बारम्बार पढे सुनेका थिए । धेरै अघि देखि नेपालका हिमचुचुरो र प्राकृतिक सौन्दर्यता चुम्ने उनको सपना अहिले पुरा भएको छ । तर, यसपटक घुमघाम र रमाइलोमा केन्द्रित नभइ पदयात्राबाट अटिजम केयर नेपालकालागि आर्थिक सहयोग जुटाउने र अटिजमबारे सर्वसाधारणलाई सुसूचित गराउने उनको योजना छ ।
‘हिमालयज फर अटिजम’ नाम दिइएको च्यारिटी एक्सपिडिसनका क्रममा कयौं नेपालीसंग भेट्न पाइने भएर बडो उत्साहित छन् उनी । मार्च पहिलो साता काठमाडौं पुगेका एलेक्स झण्डै दश दिनजति ठमेलस्थित होटल मनाङमा बसे । त्यसपछि उनी सहयोगको प्रस्ताव लिएर नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज एसोसियसन नेपाल (टान) पुगे । तर, निराशाबाहेक केही भएन ।
दुई वर्ष अघि गएको भूकम्पका कारण नेपालमा पदयात्रा गर्न सुरक्षित छैन् भन्ने आशंका भइरहंदा चार महिनासम्म नेपालको उच्च हिमाली क्षेत्रको पदयात्रा गरेर सामाजिक सन्जाल मार्फत संसारलाई अवगत गराउने योजना बनाएका एलेक्सले कतैबाट सहयोग र प्रोत्साहन नपाएको गुनासो गरे ।
एउटा पत्रकार सम्मेलन आयोजना गरिदिन अनुरोध गर्दै पर्यटन बोर्ड गएका एलेक्सलाई बोर्डले एउटा प्रोपोजल तयार गर्न भन्यो । उनले प्रोपोजल तयार गरेर पनि बुझाए, तर बोर्डले केही जवाफ दिएन । टानमा उनले ट्रेकिङ पर्मिट फी मिनाहा गर्न अनुरोध गर्दै सम्पर्क गरे, तर कुनै सहयोग पाएनन् । त्यसपछि एउटा सहृदयी नेपाली पर्यटन व्यवसायीको सहयोगबाट मकालु र कन्चनजंघा क्षेत्रको भमण गर्ने अनुमतिपत्र लिएर उनी मार्च १७ तारिख त्यसतर्फ प्रस्थान गरे ।
ताप्लेजुङ हुंदै ४७०० मिटर अग्लो नाङ्गो ला पास पुगेका उनले आफू निकै थकित भएको, शरीरको तौल घटेको र त्यहीं टेन्ट गाडेर बसेको हिमालयज फर अटिजम अभियानको फेसबुक पृष्ठमा लेखेका थिए। वाइबी ट्रयाकरद्वारा दुईदिन अघि पोष्ट गरिएको सन्देशमा उनले अझै इन्टरनेट सम्पर्क उपलब्ध नभएकाले आफ्नो भ्रमणबारे थप जानकारी दिन नसकेको उल्लेख गरेका छन् ।
उच्च हिमाली क्षेत्रको पदयात्रा आफैंमा सहज होइन । खतरनाक उक्त पदयात्राका लागि एलेक्सले पूर्व तयारी भने पर्याप्त गरेका छन् । कार्डिओ रेस्पीरेटोरी ट्रेनिङ जस्तै साइकलयात्रा, दौड आदि । उनले पदयात्राका लागि संयमता र धैर्यता अपनाएर नयां मौसमको सामना गर्ने बताए । प्रकृति भन्दा बलियो अरु केही नहुने पनि उनको विश्वास छ ।
सन् २०१५ को भूकम्पपछि धेरै विदेशी नेपाल जान हच्किएको अवस्था छ । उनको मनमा डर चाहिं छ कि छैन् ? नेपाल जानु अघि उनले भने, ‘पक्कै पनि मलाई डर लागेको थियो । हजारौंको ज्यान लिएको महाभूकम्प जुन बेला जसरी पनि आउन सक्छ । तर, म साहस बटुलेर पदयात्राको जोखिम सामना गर्न खोजेको छु ।’
नेपाल उड्नुअघि एलेक्सले लन्डनस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदी र बेलायतकालागि नेपालका मानार्थ पर्यटन दूत पशुपति भण्डारीलाई बेग्ला बेग्लै भेटेका थिए । राजदूतलाई भेटेर उनले ९० दिनमा ट्रेकिङ पुरा गरेर फर्कन अलिक कम हुने भएकाले त्यसको सट्टा १५० दिनसम्म भिजा थपिदिने प्रक्रिया मिलाइदिन आग्रह गरेको र त्यसमा सुवेदीले सहयोग गर्ने वचन दिएको बताए ।
एलेक्सले आफ्नो च्यारिटी एक्सपिडिसनबाट अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्धन हुने आशा राखेका छन् । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) जस्ता निकायले ट्रेकिङ रुट र राष्ट्रिय निकुन्जको शुल्क मिनाह गरिदिए हुने अपेक्षा एलेक्सको छ । उनले विश्वभरका नागरिकलाई नेपाल आएर त्यहांको अनौठो सौन्दर्यको रसस्वादन गर्न समेत सुझाएका छन् ।
बल्ल बल्ल मकालु र कन्जनजंघा क्षेत्रको परमिट रुट पाए पनि कुल १७०० किमी लामो पदयात्राको बांकी इजाजत नहुंदा उनको यात्रा अझै अन्योलमा छ । साथमा उनीसंग पैसा पनि छैन् ।
‘हाम्रा निकायहरुले लाखौं खर्च गरेर पनि गर्न नसक्ने प्रचारप्रसार नेपालका मित्र यी पदयात्रीले एक्लै गर्न सक्छन् । त्यसैले एलेक्सको पदयात्रा पुरा गर्न सघाउन सम्वन्धित निकायहरुले पहल गरिदिए हुन्थ्यो’, एकजना पर्यटन व्यवसायी भन्छन् ।