काठमाडौँ, ३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि सुरु हुने मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपालको संविधान जारी भएपछि निर्वाचित हुनुभएका राष्ट्रपति भण्डारीको यो पहिलो राजकीय विदेश भ्रमण हो । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी पाँचदिने राजकीय भ्रमणमा त्यसतर्फ जान लाग्नु भएको हो । राष्ट्रपति भण्डारी सोमबार बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपतिको भ्रमणमा सवारीमन्त्रीका रुपमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीलगायतको सहभागिता रहने पराराष्ट्र मन्त्रालयले जनाएको छ । आज राष्ट्रपति कार्यालयमा राष्ट्रपति भण्डारीको उपस्थितिमा भ्रमण दलका सदस्यलाई भ्रमणको औपचारिक जानकारी गराइएको छ ।
सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण निकट छिमेकी देश भारतबाट हुन लागेकाले यसलाई गौरवमय बनाइने विचार व्यक्त गर्नुभयो । उहाँले भ्रमणले नेपाल–भारतको सम्बन्ध नयाँ उचाइमा पुरयाउने गरी सबैले भ्रमणलाई सफल पार्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा परराष्ट्रमन्त्री डा महतले राष्ट्रपतिको राजकीय भ्रमण देशको प्रतिष्ठासँग जोडिने भएकाले सबैले भ्रमण सफल पार्ने गरी प्रस्तुत हुने विश्वास दिलाउनुभयो । कार्यक्रममा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक भट्टराइले भ्रमणको तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।
राष्ट्रपतिको भारत भ्रमण प्रस्थान र स्वदेश आगमनको दिन सार्वजनिक बिदा
काठमाडौँ, ३ वैशाख । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्ने र स्वदेश फर्कने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी भोलि सोमबार र आउँदो शुक्रबार नेपालभरका सबै सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिइने जनाएको छ ।
राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । यसैगरी उहाँ यही वैशाख ८ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।
राष्ट्रपतिद्वारा पूर्वप्रम तथा दलका नेतासँग परामर्श
आसन्न मित्रराष्ट्र भारतको राजकीय भ्रमणका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज पूर्वप्रधानमन्त्री तथा दलका नेतासँग परामर्श गरी सुझाव लिनुभएको छ ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा भएको छलफलमा उहाँले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र डा बाबुराम भट्टराईसँग परामर्श गरी सुझाव लिनुभएको हो ।
यसैगरी नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतम, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय गच्छदार, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीसँग पनि राष्ट्रपति भण्डारीले सुझाव लिनुभएको हो ।
सो अवसरमा उहाँहरुले राष्ट्रपतिको भारत भ्रमणले नेपाल–भारतबीचको एतिहासिक सम्बन्ध अझ सुमधुर बन्ने विश्वास व्यक्त गर्नुभयो ।