लन्डन । बेलायतकी महारानी एलिजावेथ द्वितीयको ९१ औँ जन्म दिवस उहाँकै निवासमा शुक्रबार शान्त वातावरणमा मनाइएको छ ।
बेलायती रोयल हर्स आर्टिलरीले बकिङघम प्यालेस हुँदै अघि बढेको बग्गी बिहान ११ बजे यहाँको हाइक पार्कमा पुगेपछि उहाँको ९१ औँ जन्मदिनको अवसरमा ४१ तोपको सलामी अर्पण गरिएको थियो ।
सो अवसरमा बकिङघम राजदरबार बाहिर बेलायती सेनाको सङ्गीत टोलीले ‘ह्याप्पी बर्थ डे’ को सङ्गीत बजाएर खुसियाली मनाइएको थियोे ।
महारानी एलिजावेथ द्वितीयको जन्म दिवसकै अवसरमा बेलायतको सयौँ वर्ष पुरानो ‘टावर अफ लन्डन’ मा एक छुट्टै समारोहका बीच ६३ तोपको सलामी दिइएको थियो ।
महारानी एलिजावेथ द्वितीय बेलायतको इतिहासमै सबैभन्दा लामो समय सत्ता सम्हाल्ने व्यक्ति हुनुहुन्छ ।
थाई नरेश भूमिबोल अदुल्यादेजको गत वर्ष मृत्यु भएपछि महारानी एलिजावेथ हाल विश्वकै सबैभन्दा बढी शासन गर्ने जीवित रानी हुनुहुन्छ । उहाँले सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म बेलायतको सत्ता सम्हाल्नुभएको छ । बेलायतमा महारानी संविधानको संरक्षकका रुपमा हुनुहुन्छ ।
महारानीले आफ्नो जन्म दिवस प्रायजसो निजी रुपमा मनाउने गर्नुहुन्छ ।