ललितपुर, १९ वैशाख । स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख तीन दलले आफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।
यहाँका गोदावरी नगरपालिमा नेपाली काँग्रेसले गजेन्द्र महर्जन, नेकपा (एमाले)ले श्याम सिलवाल र नेकपा (माओवादी केन्द्र)ले गोविन्द महर्जनलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ ।
त्यसैगरी नगर उपप्रमुखमा काँग्रेसले मुना अधिकारी कुँवर, एमालेले तारा सञ्जेल र (माओवादी केन्द्र)ले सीता घिमिरेलाई उम्मेदवार बनाएको छ ।
यस्तै महालक्ष्मी नगरपालिमा काँग्रेसले महेश खड्का, एमालेले रामेश्वर श्रेष्ठ र (माओवादी केन्द)ले शिव कट्टेललाई नगर प्रमुखकको उम्मेदवार बनाएको छ । उपप्रमुखमा काँग्रेसले लक्ष्मी श्रेष्ठ, एमालेले निर्मला थापा र (माओवादी केन्द्र)ले लक्ष्मी सिंह महर्जनलाई उम्मेदवार बनाएको छ ।
यसैगरी वाग्मती गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेसले वीरबहादुर लोप्चन, एमालेले दुर्गा घिमिरे र (माओवादी केन्द्र)ले राजु आलेमगरलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा काँग्रेसले रञ्जना तिमिल्सिना, एमालेले डोलकुमार सिँतान र (माओवादी केन्द्र)ले कमला थापामगरलाई उम्मेदवार बनाएको छ ।
कोञ्ज्यो गाउँपालिकाको अध्यक्षमा काँग्रेसले राजन घिमिरे, एमालेले कृष्णमान लामा र (माओवादी केन्द्र)ले गोपी सिँतानलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा काँग्रेसले लक्ष्मीमाया लोप्चन, एमालेले सुष्मिता दुलाल घिमिरे र (माओवादी केन्द्र)ले मिग्मा लामालाई उम्मेदवार बनाएको छ ।
यस्तै महाङ्काल गाउँपालिकाको अध्यक्षमा काँग्रेसले भीमसेन घिमिरे, एमालेले रामचन्द्र दाहाल र (माओवादी केन्द्र)ले बुद्ध नेगीलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा काँग्रेसले सुशीला अधिकारी, एमालेले कमला तामाङ र (माओवादी केन्द्र)ले बिमला आचार्यलाई उम्मेदवार बनाएको छ ।
जिल्लाका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीकाअनुसार जिल्लाका सबै स्थानीय तहमा उत्साहपूर्वक उम्मेदवारी दर्ता भइरहेको छ ।
भरतपुर महानगरपालिकामा तीन ठूला दलको उम्मेदवारी दर्ता
चितवन, १९ वैशाख । भरतपुर महानगरपालिकामा प्रमुख तीन दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
प्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट दिनेश कोइराला, नेकपा (एमाले)का तर्फबाट देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रका तर्फबाट रेणु दाहालले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
उपप्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट पार्वती शाह, नेकपा (एमाले)का तर्फबाट दिव्य शर्मा आचार्य, माओवादी केन्द्रका तर्फबाट सुरेन्द्र गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
कोइरालाको समर्थकमा उद्धव लोहनी र प्रस्तावकमा उत्तम जोशी रहनुभएको छ । ज्ञवालीको प्रस्तावकमा कृष्णभक्त पोखरेल र समर्थकमा विजय सुवेदी रहनुभएको छ । दाहालको प्रस्तावकमा नारायणप्रसाद दाहाल र समर्थकमा सूर्य सुवेदी पथिक रहनुभएको छ ।
सुरुमा माओवादी केन्द्र, त्यसपछि नेकपा (एमाले) र नेपाली काँग्रेसले पालैपालो उम्मेदवारी दर्ता गराएका थिए । माओवादी केन्द्रभन्दा अघि नेपाल दलित पार्टीका दिलबहादुर विश्वकर्मा र राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङ प्रमुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको थियो ।
बिहान १०ः३० बजेबाट मनोनयन दर्ता सुरु भएको थियो । मनोनयन दर्ता गर्न दलहरु बाजागाजा र झाँकीसहितको जुलुस लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
जिल्लाका अन्य पाँच नगरपालिका र एक गाउँपालिकामा पनि मनोनयन दर्ता भएका छन् ।
पोखरा महानगरपालिकामा उम्मेदवारी दर्ता
पोखरा, १९ वैशाख । पोखरा लेखनाथ महानगरपालिकामा यही वैशाख ३१ गते हुने निर्वाचनका लागि प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यका लागि आज दलहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला समन्वय समितिको कार्यालयस्थित निर्वाचन कार्यालयमा दलहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । नेपाली काँग्रेसले प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङको उम्मेदवारी दर्ता गरेको छ ।
नेकपा (एमाले)ले प्रमुखमा मानबहादुर जिसी र उपप्रमुखमा मन्जु गुरुङको उम्मेदवारी दर्ता गरेको छ । नेकपा (माओवादी केन्द्र)ले प्रमुखमा विश्वप्रकाश लामिछाने र उपप्रमुखमा गोमा ढकाललाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुखमा गीता गुरुङ र उपप्रमुखमा रमेशबहादुर खत्रीको उम्मेदवारी परेको छ ।
त्यस्तै महानगरपालिकाका लागि समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबाट प्रमुखमा हुम गुरुङ र उपप्रमुखमा लक्ष्मी खाती परियारको उम्मेदवारी दर्ता गर्नुभएको छ ।
प्रमुख राजनीतिक दलका साथै विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दर्ता समेत भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुभयो ।
उम्मेदवारी दर्ताका लागि राजनीतिक दलहरू पोखराका विभिन्न स्थानबाट बाजागाजा र रयालीसहित निर्वाचन कार्यालय पुगेका थिए ।
हेटौँडामा उम्मेदवारी दर्ता
हेटौँडा, १९ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका क्रममा हेटौँडा उपमहानगरपालिकामा विभिन्न राजनीतिक दलले प्रमुख र उपप्रमुखका लागि उम्मेदवारको मनोनयनपत्र आज दर्ता गरेका छन् ।
सोअनुसार नेपाली काँग्रेसबाट हेटौँडा उपमहानगरपालिका प्रमुखमा आनन्दप्रसाद पराजुली र उपप्रमुखमा लक्ष्मी श्रेष्ठ, थाहा नगरपालिका प्रमुखमा पवित्रा महत विष्ट र उपप्रमुखमा खड्गबहादुर गोपालीले दर्ता गराउनुभएको मुख्य निर्वाचनको कार्यालय मकवानपुरले जनाएको छ ।
नेकपा (एमाले)बाट प्रमुखमा हरिबहादुर महत र उपप्रमुखमा मीना लामा तथा थाहा नगरपालिका प्रमुखमा विष्णु ढकाल र उपप्रमुखमा कल्पना बलामीको मनोनयन दर्ता भएको छ ।
नेकपा (माओवादी केन्द्र)बाट हेटौँडा उपमहानगरपालिका प्रमुखमा बलराम बल र उपप्रमुखमा कल्पना पौडेल, थाहा नगरपालिका प्रमुखमा लवशेर विष्ट र उपप्रमुखमा शकुन्तला गोपाली, राप्रपाबाट सोही उपमहानगर प्रमुखमा मधुकर अधिकारी र उपप्रमुखमा इन्दिरा न्यौपाने तथा थाहा नगरपालिका प्रमुखमा हरेराम कार्की र उपप्रमुखमा राममाया लामाले मनोनयन दर्ता गर्नुभएको छ ।
अन्य राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारको मनोनयनपत्र दर्ताको विवरण आउन बाँकी छ ।